सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२, कमलपुरमा मदिरा तस्करीका क्रममा प्रहरीले हस्तक्षेप गर्दा तस्कर समूह र प्रहरीबीच झडप भएको छ ।
झडपका क्रममा प्रहरीको गोली लागेर एक स्थानीय युवकको मृत्यु भएको पुष्टि भएको छ । मदिरा भारतबाट अवैध रूपमा ल्याइँदैछ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली घटनास्थलमा पुगेपछि तस्कर समूहले प्रहरीमाथि ढुंगा–मुढा प्रहार गर्दै आक्रमण गरेको थियो । प्रहरीले आत्मरक्षाका लागि गोली चलाउनुपरेको र सोही क्रममा लालु यादव नाम गरेका स्थानीय युवकको तिघ्रामा गोली लागेर घाइते भएका थिए ।
प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार यादवलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको हो । झडपमा एकजना प्रहरी पनि तस्कर समूहको आक्रमणबाट घाइते भएका छन् । गोली प्रहारपछि तस्करहरू केही कार्टुन मदिरा छाडेर भागेका थिए । प्रहरीले ती मदिरा सामग्री बरामद गरेको जनाएको छ ।
प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको छ भने सुरक्षा व्यवस्था कडाइ गरेको छ ।
भिडियाे सामाग्री