रौतहट | नेपाल–भारत सीमावर्ती रौतहटका विभिन्न नाकाबाट हुने तस्करी र भन्सार छली नियन्त्रण गर्न सशस्त्र प्रहरीले गस्ती कडाइ गरेपछि करोडौं रुपैयाँ बराबरका सामान बरामद भएका छन् ।
सशस्त्र प्रहरी बल रौतहटले गत आर्थिक वर्षमा पाँच करोड ७४ लाख रुपैयाँ मूल्यका सामान बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतका अनुसार भन्सार छली गरेर ल्याइएका ती सामानहरू बरामद गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको हो ।
दक्षिणी सीमा क्षेत्रमा पाँचवटा ‘बोर्डर आउटपोष्ट’ र आठवटा सुरक्षाबेस क्याम्पमार्फत तैनाथ सशस्त्र प्रहरीले तस्करी नियन्त्रणका लागि सक्रियता बढाएको बस्नेतले बताए । गत आर्थिक वर्षमा सक्रियतामा वृद्धि भएपछि बरामद हुने सामानको मात्रा उल्लेखनीय रूपमा बढेको छ ।
सोही अवधिमा दुई करोड ४८ लाख ४५ हजार ६५३ रुपैयाँ मूल्यका अवैध किराना, कस्मेटिक, लत्ताकपडा र मोटर पार्ट्स बरामद गरिएको छ । त्यसबाहेक, एक/एक थान स्कर्पियो र सफारी गाडी, एक/एक थान बोलेरो, म्याजिक र अटो रिक्सासहित १८० वटा मोटरसाइकल बरामद गरी गौर भन्सार कार्यालयमा बुझाइएको हो ।
स्रोत नखुलेको ४८ लाख १७ हजार ११० रुपैयाँ नेपाली तथा ९ लाख ४९ हजार ४४९ रुपैयाँ भारतीय नगद समेत बरामद भएको छ। साथै, ६९३ क्युफिट काठ बरामद गरी डिभिजन वन कार्यालय रौतहटमा बुझाइएको छ ।
गत आवमा ४०६ कार्टुन (पाँच लाख ५१ हजार ८२५ रुपैयाँ मूल्य) मदिरा, ८५० किलो माछा, १ हजार २४९ किलो बोइलर कुखुरा, १६ वटा गाईगोरु, भैंसी तथा पाडापाडी र चार लाख तीन हजार ५६ रुपैयाँ मूल्यका पटका समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।