सप्तरी | मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा प्रहरीको गोलीबाट मृत्यु भएका लालु यादवको घर पुगेर घटनाबारे विस्तृत जानकारी लिएका छन् ।
मुख्यमन्त्री सिंहले मृतक यादवको परिवारका सदस्य, स्थानीयवासी र नागरिक समाजसँग भेटघाट गरी घटनाको छानबिन र अनुसन्धान जारी रहेको जानकारी दिएका छन् । उनले सत्यतथ्य चाँडै सार्वजनिक हुनेमा विश्वास व्यक्त गरेका छन् ।
स्वर्गीय यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री सिंहले परिवारजनलाई यस असहनीय क्षतिमा धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरुन भन्ने कामना व्यक्त गरेका छन् ।
स्थानीय विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका यादवमाथि यही साउन २० गते प्रहरीले तस्करी नियन्त्रण गर्ने क्रममा गोली चलाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले पुष्टि गरेको थियो ।
तर, स्थानीयले भने तस्करी नियन्त्रणको नाममा प्रहरीले यादवलाई नियन्त्रणमा लिएर गोली हानेको आरोप लगाउँदै आएका छन् ।