सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–५ निवासी ४० वर्षीय रामपुकार यादवको हत्या प्रकरणमा संलग्न आरोपी धिरेन्द्र राय यादव पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार राति आफ्नै घरअगाडिको आँगनमा बसिरहेका यादवमाथि मोटरसाइकलमा आएका दुई जनामध्ये पछाडि बसेका युवकले पेस्तोल प्रहार गरेका थिए । टाउकोमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि महोत्तरीस्थित जानकी हेल्थ केयर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
घटनापछि भाग्ने क्रममा धिरेन्द्र सवार मोटरसाइकल दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा घाइते भएका उनलाई उपचारपछि मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो । मोटरसाइकल चालक भने हालसम्म फरार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थल र धिरेन्द्र बसोबास गर्दै आएको मलंगवा–९ स्थित डेराबाट नलकटुवा पेस्तोल र गोलीको खोका बरामद गरेको छ । जिल्ला अदालत सर्लाहीले थप अनुसन्धानका लागि उनलाई सात दिन थुनामा राख्न अनुमति दिएको प्रहरी प्रवक्ताले जानकारी दिएका छन् ।
धिरेन्द्र यसअघि पनि गम्भीर आपराधिक घटनामा संलग्न रहेका छन्। २०८१ असोज १० गते राति आफ्नै घरमा उनले श्रीमती चित्रलेखा कुमारी यादवलाई पेस्तोल प्रहार गरी हत्या गरेका थिए । सोही घटनामा उनका बुबा राम दिनेश राय घाइते भएका थिए। त्यसपछि उनी फरार रहेका थिए ।
प्रहरीका अनुसार धिरेन्द्रविरुद्ध कर्तव्यज्यान तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको छ ।
भिडियाे सामाग्री