वीरगंज | वीरगंजमा हैजा (कोलेरा) संक्रमण तीव्र रुपमा फैलिँदै गएको छ। शुक्रबार ३ जनामा हैजा पुष्टि भएकोमा शनिबार थप ७ जनामा संक्रमण देखिएको छ ।
नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार, हाल झाडापखालाका १५ बिरामीमध्ये शनिबार परीक्षण गरिएका ८ जनामध्ये ५ जनामा हैजा पुष्टि भएको छ । ती सबै वीरगंज महानगरपालिका–१२ मुर्लीका निवासी हुन् ।
त्यसैगरी, वीरगंज महानगरपालिका स्वास्थ्य शाखा प्रमुख राजु साहका अनुसार, वडा नम्बर ११ र १३ का दुई जनामा पनि शनिबार हैजा देखिएको छ । यसअघि शुक्रबार तराई हस्पिटलमा ३० जनामध्ये ३ जनामा संक्रमण पुष्टि भएको थियो ।
वीरगंजका विभिन्न अस्पतालमा झाडापखालाका बिरामीको संख्या बढ्दै गएको छ । वीरगंज–१४ बहुअरीस्थित वीरगंज हेल्थ केयर हस्पिटलमा मात्र हैजाको शंका लागेका १३ बिरामी उपचाररत छन्। तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको अस्पतालका अध्यक्ष डा. अबुल हैस अन्सारीले जानकारी दिए ।
यसैबीच, शुक्रबार झाडापखालाका कारण उपचारका लागि ल्याइएका २ जनाको मृत्यु भएको छ । वीरगंज हेल्थ केयर हस्पिटलमा पर्साको पोखरिया नगरपालिका–९ की १९ वर्षीया युवती र नारायणी अस्पतालमा वीरगंज–१६ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो। तर उनीहरूको मृत्यु हैजाका कारण भएको वा नभएको पुष्टि भइसकेको छैन ।
संक्रमण सुरु भएपछि वीरगंज महानगरपालिकाले शुक्रबार रातिदेखि नै स्वास्थ्यकर्मी टोली प्रभावित क्षेत्रमा परिचालन गरेको छ । टोलीले घर–घरमा पिउने पानीको नमूना संकलन गरी थप परीक्षणका लागि काठमाडौंस्थित टेकु स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइसकेको जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।
उनका अनुसार, पर्सा जिल्लामा पछिल्ला १० वर्षमा पहिलोपटक हैजाको प्रकोप देखिएको हो। दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्ने भिब्रियो कोलेरी जीवाणुका कारण हैजा हुने गर्दछ ।
यस रोगका लक्षणमा निरन्तर झाडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, आँखा गाडिने, शरीरमा पानी कमी भई मांसपेसी दुख्ने र ज्वरो आउने जस्ता समस्या देखिने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
भिडियाे सामाग्री