सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा भएको पाँच महिना पुग्न लाग्दा पनि दुई कर्मचारीले सरुवाको रमाना नबुझेको खुलेको छ ।
स्टोर शाखा र प्रशासन शाखामा कार्यरत नायब सुब्बा नारायण यादव र रामबाबु यादव सरुवा भइसके पनि अहिलेसम्म नयाँ कार्यस्थलमा नगई अस्पतालमै काम गरिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८१ साल चैत २५ गते नारायण यादवलाई र संघीय मामिला मन्त्रालयले २०८२ साल बैशाख २४ गते रामबाबु यादवलाई सरुवा गरेको थियो ।
तर, कांग्रेस र माओवादीको ‘राजनीतिक कनेक्सन’का कारण दुवैले सरुवाको रमाना पत्र नबुझेको अस्पताल स्रोतले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) प्रकाश प्रसाद साहका अनुसार दुबै कर्मचारी अस्पतालमै उपस्थित भए पनि सरुवाको प्रक्रिया पुरा गर्न आनाकानी गरिरहेका छन् ।
यसैबीच, स्वास्थ्य मन्त्रालयले यही जेठ २८ गते नै काज फिर्ता गर्ने तथा रमाना बुझाउने आदेश जारी गरिसकेको थियो। तर, उच्च राजनीतिक संरक्षणकै कारण दुवै जना कर्मचारीले मन्त्रालयको आदेशलाई बेवास्ता गर्दै गजेन्द्र नारायण सिंह अस्पतालमै काम गरिरहेको आरोप लाग्दै आएको छ ।
स्रोतका अनुसार, नारायण यादव माओवादी निकट र रामबाबु यादव कांग्रेस निकट कर्मचारी हुन् । राजनीतिक पहुँचकै कारण उनीहरू सरुवा भए पनि नयाँ कार्यस्थलमा जान तयार नभएको जनाइएको छ ।