सप्तरी । घरायसी विवादका कारण श्रीमतीलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा सप्तरी प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको रुपनी गाउँपालिका–२ स्थित पौवामा २६ वर्षीय सन्दीप कुमार खंग खत्वेलाई आफ्नी पत्नी सबनम कुमारी खंगलाई कुटपिट गरी सलको पासो लगाएर हत्या प्रयास गरेको आरोपमा बिहीबार नियन्त्रणमा लिइएको हो ।
घटनाकै क्रममा सबनमलाई सलको पासो घाटीमा लगेर मार्न खोजिएको अवस्थामा उनका जेठाजु प्रदिप खंगले उद्धार गरी तत्कलै गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज लगेर उपचार सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
उहाँको घाँटीमा निलडाम परेको छ र बोल्न सक्ने भए पनि स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे जानकारी प्राप्त हुनासाथ कुटपिट र हत्या प्रयास गर्ने सन्दीपलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रुपनीमा राखेको प्रहरीले बताएको छ ।