सप्तरी | राजविराज नगरपालिका–१० कदमाहास्थित श्री गायत्री जगदीश सावित्री सुध आधारभूत विद्यालय स्थापना भएको १६ वर्ष भइसके पनि आजसम्म शौचालय निर्माण हुन सकेको छैन । शौचालय अभावका कारण विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थीहरू खुला आकाशमुनि शौच गर्न बाध्य छन् ।
मुसहर समुदायको बाहुल्य रहेको बस्तीलाई लक्षित गरी २०६६ सालमा शिक्षा कार्यालय सप्तरीबाट अनुमति लिएर विद्यालय सञ्चालनमा ल्याइएको थियो । हाल विद्यालयमा बालविकासदेखि कक्षा चारसम्मका कक्षा सञ्चालनमा छन् ।
केवल दुईवटा कोठा रहेको विद्यालयमा पाँचवटा कक्षा, विद्यार्थीका लागि खाजा पकाउने ठाउँ र विद्यालयको कार्यालय समेत सञ्चालन हुँदै आएको विद्यालयकी प्रधानाध्यापक सुष्मा यादवले बताउनुभयो। उहाँका अनुसार ६४ जना विद्यार्थी रहेको विद्यालयमा कक्षा कोठा अभावकै कारण शिक्षण–अधिगममा कठिनाइ आइरहेको छ ।
प्रधानाध्यापक यादवले भनिन्, “विद्यालयमा कोठा र शौचालय निर्माणका लागि पटक–पटक सम्बन्धित निकायमा निवेदन दिए पनि हालसम्म सुनुवाइ भएको छैन । विद्यार्थीहरूलाई विद्यालय आउन खेतको आली हुँदै आउनुपर्ने बाध्यता पनि छ ।”
विद्यालयमा एक जना राहत शिक्षक र चार जना निजी स्रोतका गरी पाँच जना शिक्षक–शिक्षिका कार्यरत छन् ।
यसै वडाको मट्टीगढीस्थित राष्ट्रिय आधारभूत विद्यालय मट्टीगढीमा पनि बालविकासदेखि कक्षा पाँचसम्मका कक्षा सञ्चालन भइरहेका छन् । चारवटा कोठामा ६ वटा कक्षा सञ्चालन गर्नुपरेको विद्यालयका प्रधानाध्यापक महेन्द्र प्रसाद यादवले बताए । “कोठाको समस्या गम्भीर छ, विद्यालय व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ,” उहाँले भन्नुभयो ।
इन्टेलेक्चुअल नेपाल सप्तरीका अध्यक्ष तथा शैक्षिक अभियन्ता डा. सूर्यप्रसाद यादवले राजविराज नगर क्षेत्रका केही विद्यालयहरूलाई मर्ज गरेर सशक्त रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।
वडाध्यक्ष गंगाराम खंगका अनुसार विद्यालयको अवस्थाबारे वडाले निरन्तर अनुगमन गर्दै आएको छ। “गायत्री जगदीश सावित्री सुध विद्यालयमा विद्यार्थी संख्या अत्यन्त कम छ । विद्यार्थी संख्या र गुणस्तर वृद्धि नगरी थप बजेट लगानी गर्न कठिन छ,” उहाँले बताउनुभयो । उहाँका अनुसार मट्टीगढीस्थित विद्यालयको समस्या समाधानका लागि भने बजेट विनियोजन गरिएको छ ।