बारा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथलैया–निजगढ सडकखण्डमा आतंक मच्चाइरहेको वयस्क जङ्गली हात्तीलाई नियन्त्रणमा लिन विज्ञ टोलीलाई हम्मे परेको छ ।
एक साताअघि बारामा देखिएको उक्त जङ्गली हात्तीले सोमबार जीतपुर सिमरा उपमहानगरपालिका–१ का राजकुमार चौधरीको ज्यान लिएको थियो। सो घटनापछि राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली फिल्डमा खटिएर हात्ती नियन्त्रणको प्रयास गरिरहेको छ ।
डा. अमिर सडौलाको नेतृत्वमा पाँच जनाको प्राविधिक टोली चार दिनदेखि फिल्डमा सक्रिय छ तर हात्ती नियन्त्रणमा भने अहिलेसम्म सफलता मिलेको छैन । हात्ती हाल सहजनाथ साझेदारी वन क्षेत्रमा देखिएको जनाइएको छ ।
डा. सडौलाले भने, “हात्ती हाम्रो रेन्जभित्र आइसकेको छ, तर नियन्त्रणमा लिन सकेका छैनौं। यो हात्ती समूहबाट छुट्टिएको हो वा खानाको खोजीमा आएको हो, अध्ययन नगरी भन्न सकिने अवस्था छैन ।”
पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको यस सडक खण्डमा हरेक वर्ष नयाँ–नयाँ जङ्गली हात्ती देखा पर्नेजस्ता घटना भइरहन्छन्। यसअघि ‘यमगज’ नामक हात्तीले अम्लेखगञ्जमा एक महिलाको ज्यान लिएको थियो ।
पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी सन्तोष भगतका अनुसार अम्लेखगञ्ज–निजगढ सडकखण्डमा हात्तीको आवागमन पछिल्ला ५० वर्षदेखि हुँदै आएको हो । “यो करिडोर हो, पूर्वतर्फबाट हरेक वर्ष यही मौसममा हात्ती रौतहट हुँदै बारातर्फ आउँछ,” उनले भने ।
हात्ती नियन्त्रणका लागि डिभिजन वन कार्यालय, ट्राफिक प्रहरी र जनपथ प्रहरी समेत खटिएका छन् । मङ्गलबार हात्तीलाई डार्ट गर्न खोज्दा औषधिको एक डोजले काम नगरेपछि साँझ पर्दा टोलीले काम गर्न नसकेको भगतले बताए ।
निकुञ्जले आफ्नो खोरका बलिया हात्तीसमेत परिचालन गरेको छ। यता, राजमार्गमा आक्रमण बढेपछि ट्राफिक प्रहरीले सवारीसाधन रोकी नागरिकलाई सतर्क रहन आग्रह गरेको राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी नायव उपरीक्षक वकिल बहादुर सिंहले जनाएका छन् ।
हात्तीसम्बन्धी अनुसन्धानकर्ता अशोक रामका अनुसार समूहबाट छुट्टिएका वयस्क भाले हात्तीबाट सबैभन्दा बढी समस्या देखिन्छ। सन् २००० देखि २०२० सम्म नेपालभर ४१२ जनामाथि हात्तीको आक्रमण हुँदा २७४ जनाको मृत्यु र १३८ जना घाइते भएका थिए ।
रामका अनुसार मान्छेले हात्तीलाई जिस्काउँदा वा धपाउँदा बढी आक्रमणका घटना हुने गर्छन्। “जाँडरक्सी सेवन गरी हात्तीको वरिपरि जानेहरू बढी निशानामा पर्छन्,” उनले बताए ।
वयस्क भाले हात्ती विशेषगरी धान, नुन र जाँडरक्सीको गन्धतर्फ आकर्षित हुने भएकाले यस्ता वस्तुहरू घरमा नराख्न सुझाइएको छ। साथै, हात्तीको व्यवहारबारे स्थानीयलाई सचेत गराउन आवश्यक रहेको विज्ञहरूको भनाइ छ ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले भने, “पहिलो प्राथमिकता हात्तीलाई नियन्त्रणमा लिएर थप क्षति रोक्नु हो। त्यसपछि यसको व्यवस्थापनबारे योजना बनाइन्छ ।”
विज्ञहरूका अनुसार हात्ती समूहमा हिँड्ने प्राणी हो, जसको नेतृत्व प्रायः ‘हजुरआमा हात्ती’ ले गर्छिन्। समूहबाट बहिष्कारमा परेका हात्ती बढी आक्रामक हुने र यिनले मानवीय क्षति पुर्याउने सम्भावना बढी हुने जनाइएको छ ।