अन्तर्रा्ष्ट्रिय बजारमा आएको तीव्र उतार–चढावको प्रत्यक्ष प्रभाव आज नेपाली बजारमा पनि देखिएको छ ।
गत शुक्रबारको तुलनामा आज सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । महासङ्घका अनुसार अघिल्लो साता शुक्रबार प्रतितोला २ लाख ४९ हजार ७०० रुपियाँमा कारोबार भएको छापावाला सुन आज ६ हजार ९०० रुपियाँले घटेर प्रतितोला २ लाख ४२ हजार ८०० रुपियाँमा झरेको छ। पछिल्ला केही सातादेखि अन्तर्रा्ष्ट्रिय बजारमा देखिएको अस्थिरतासँगै सुनको मूल्यमा निरन्तर उतारचढाव भइरहेकाप्रमाणस्थ भएको महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्यमा पनि उल्लेख्य कमी आएको छ । गत शुक्रबार प्रतितोला ३ हजार २८५ रुपियाँमा कारोबार भएको चाँदी आज १५० रुपियाँले घटेर ३ हजार १३५ रुपियाँमा झरेको छ ।
अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा सुन प्रतिऔँस ४ हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । भूराजनीतिक तनाव, अमेरिकी डलरको बलियोपन तथा विश्वव्यापी आर्थिक अनिश्चितताले सुन–चाँदीका बजारमा व्यापक प्रभाव पारिरहेको विश्लेषकहरूको भनाइ छ ।
व्यवसायीहरूको अनुमान अनुसार छुट्टी र चाडपर्वपछिको सामान्य मौसमी शान्त वातावरण तथा विश्व बजारको अस्थिरताले निकट भविष्यमा पनि नेपाली बजारमा मूल्य हेरफेर जारी रहने सम्भावना छ ।