वीरगंज | वीरगंजको माईस्थान चौकमा घण्टाघर मिना बजार सामुदायिक समूह र ट्राफिक प्रहरी पर्साको संयुक्त पहलमा आज ज़ेब्रा क्रसिङ सम्बन्धी जागरूकता अभियान सम्पन्न भएको छ ।
सवारी चालक तथा पैदल यात्रुहरूलाई ट्राफिक नियमप्रति सचेत बनाउँदै ज़ेब्रा क्रसिङको सुरक्षित र अनिवार्य प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको आयोजकले जानकारी दिए ।
अभियानका क्रममा ट्राफिक प्रहरी टोलीले पैदल यात्रुलाई सडक काट्दा अनिवार्य रूपमा ज़ेब्रा क्रसिङ प्रयोग गर्न आग्रह गरे । त्यस्तै, सवारी चालकलाई गति नियन्त्रण, क्रसिङ नजिक हर्न नबजाउन, र पैदल यात्रुलाई प्राथमिकता दिनुपर्नेबारे सचेत गराइएको थियो ।
घण्टाघर मिना बजार सामुदायिक समूहले निरन्तर रूपमा समाजसेवा तथा शहरी अनुशासनसम्बन्धी गतिविधि गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर चलाइने प्रतिबद्धता व्यक्त गरेको छ ।
स्थानीयवासीहरूले यस्ता अभियानले सडक दुर्घटना न्यूनीकरण र यात्रु सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।


