सप्तरी । हनुमाननगर कंकालिनी–३ पोर्ताहा निवासी ४५ वर्षीय मनोज कुमार यादवलाई रासायनिक मल कालोबजारी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । यादव स्थानीय जनता कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक हुन् ।
नेपाल सरकारले किसानका लागि सहुलियत दरमा उपलब्ध गराएको रासायनिक मल बढी मूल्यमा बेच्ने उद्देश्यका लागि राखेको भन्ने विशेष सुराकीको आधारमा यादवलाई आइतबार २४० बोरा मलसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।
उनका अनुसार ना ६ ख ६२८४ नम्बरको ट्रकबाट ५० किलो तौल भएका १३० बोरा र गोदाममा राखिएका ११० बोरा मलसहित ट्रक नियन्त्रणमा लिइएको छ । यादवलाई कालोबजारीसम्बन्धी कसुरमा जिल्ला अदालत सप्तरीबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।