जनकपुरधाम । विदेह नगरपालिकाको गिधा प्रहरी चौकी मातहत पर्ने तिनकौरिया बजारको प्रहरी बिट आइतबार पुनः सञ्चालनमा आएको छ । जेनजी आन्दोलनको क्रममा लागेको आगलागीका कारण महिनौँदेखि अवरुद्ध रहेको सो प्रहरी बिट स्थानीय युवा, व्यापारी तथा सुरक्षाकर्मीको संयुक्त पहलपछि सरसफाइ गरी पुनः प्रयोगमा ल्याइएको हो ।
स्थानीय युवाहरूले आगोले क्षतिग्रस्त भएको भवनको अवशेष हटाउने, भित्तामा लागेको धुवाँ मेट्ने र फोहोर हटाउने काममा सक्रिय भूमिका निभाएका छन् । व्यापारीहरूले सरसफाइका लागि आवश्यक सामग्री उपलब्ध गराएका छन् भने प्रहरीले संरचनात्मक जोखिमको मूल्याङ्कन गर्दै आवश्यक उपकरण जडानको तयारी अघि बढाएको छ ।
प्रहरीले बिट पुनः सञ्चालन भएपछि तिनकौरिया बजार क्षेत्रमा सुरक्षा सेवा थप प्रभावकारी रूपमा प्रदान गर्ने बताएको छ। यस कदमप्रति स्थानीय बासिन्दाले खुशी व्यक्त गरेका छन् ।