बारा । बाराको पचरौत नगरपालिका–६ अन्तर्गत सीमावर्ती चिकनी–पकडिया नजिक आइतबार राति साढे १० बजे तस्करी नियन्त्रणका क्रममा नेपाल प्रहरी र तस्कर समूहबीच गोली हानाहान भएको छ । भन्सार छलीका मालवस्तु नेपालतर्फ भित्र्याउने तयारी भइरहेको ठोस सूचना पाएपछि प्रहरीले सीमातर्फ टोली परिचालन गरेको थियो ।
भारतको हनुमाननगरबाट ट्याक्टरमा लोड गरिएको अवैध सामान नेपाल भित्र्याउन लागिएको माहितीका आधारमा प्रहरीले रोकथाम प्रयास गर्दा तस्कर समूहले पहिलो आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए । उनका अनुसार नियन्त्रणका लागि अघि बढेको प्रहरीमाथि तस्करले दुई राउन्ड गोली प्रहार गरेपछि परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीतर्फबाट सात राउन्ड गोली चलाइएको हो ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक कृष्णादेव प्रसाद साहको कमान्डमा २० जनाको टोली खटिएको थियो । इँटाभट्टा नजिकै अवैध सामान लोड गरिएको ट्याक्टर नियन्त्रणमा लिएर जिल्लातर्फ ल्याउने प्रयास भइरहेका बेला तस्कर समूहले फेरि आक्रमण गर्दै ट्याक्टर तथा मालवस्तु छाड्न नदिई भारतीय सीमावर्ती बिन्धवासिनी गाउँतर्फ भागेको प्रहरीले जनाएको छ ।
भाग्दै गरेका तस्करहरूले छाडेर भागेका चार वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल, दुई मोबाइल फोन र आधार कार्ड प्रहरीले घटनास्थलमै बरामद गरेको छ । नियन्त्रणमा लिइएको ट्याक्टरमा के किसिमका अवैध सामग्री थिए भन्ने बारेमा प्रारम्भिक पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ। तस्करतर्फ गोली प्रहारबाट क्षतिको विवरण पनि अहिलेसम्म पुष्टि भएको छैन ।
सशस्त्र प्रहरीको भूमिकामाथि प्रश्न
घटनामा सशस्त्र प्रहरीको उपस्थिति नदेखिनुले भन्सार चुहावट र सीमा अपराध नियन्त्रणमा त्यसको भूमिकामाथि प्रश्न उठेको सुरक्षास्रोतहरूको दाबी छ । तस्करहरूले अवैध सामानसहित भाग्न सफल भएकाले मोर्चामा समन्वय अभाव र सम्भावित सहयोगको आशंकासमेत गरिएको छ ।
बारामा तस्करी नियन्त्रणमा संलग्न नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच आर्थिक समन्वय र भागबन्डामा विवाद हुने गरेको, जसका कारण वर्षमा एक–दुई पटक तस्कर समूहसँग दोहोरो भिडन्त, झडप तथा कहिलेकाहीँ प्रहरीको हतियारसमेत खोसिने घटना दोहोरिने गरेको सुरक्षास्रोतले बताएका छन् ।
सुरक्षाविश्लेषकहरूका अनुसार सीमाक्षेत्रमा सक्रिय तस्करी सञ्जाललाई उखेल्न दुवै निकायबीच घनिष्ठ तालमेल, साझा रणनीति, सूचनाको द्रुत आदान–प्रदान र निरन्तर निगरानी अपरिहार्य छ ।