नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व सिंचाइ मन्त्री उमेश कुमार यादवले मधेस प्रदेशलाई प्रयोगशाला बनाउने खेल निरन्तर जारी रहेको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा सोमबार स्टाटस लेख्दै नेता यादवले नेपाली कम्युनिस्ट पार्टी बाहेकका प्रमुख दलहरूले मुख्यमन्त्री र सभामुख पद पाएको भए पनि मधेसले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताएका हुन् ।
उनका अनुसार विक्रम सम्वत् २०७९ को निर्वाचनपछि मधेस प्रदेशले चार जना मुख्यमन्त्री पाइसकेको छ भने दुई जना सभामुख पनि दलगत आधारमा चयन भइसकेका छन् । “अहिलेको अवस्थामा नेपाली कम्युनिस्ट पार्टी बाहेकका मुख्य दलहरू मुख्यमन्त्री बन्न सफल भएका छन्,” उनले उल्लेख गरेका छन् ।
यादवले दलहरूको दूषित सोच, प्रलोभन र महत्वाकांक्षी जमघट तथा जकडिएको कर्मचारीतन्त्रका कारण मधेसलाई केवल प्रयोगशालाजस्तै बनाइराखिएको आरोप लगाएका छन् । उनका अनुसार साधन–स्रोतको अभाव, कानुनी कमजोरी, बलियो कर्मचारीतन्त्र र सरकारमा पुग्नै पर्ने तथा ‘मालदार’ मन्त्रालयको लोभमा गरिने राजनीतिक सम्झौताले मधेसलाई गम्भीर असर पुर्याउँदै आएको छ ।
“यो सरकारले मधेसका समस्या केन्द्रबिन्दुमा राखेर योजना ल्याउँछ कि केवल भागबण्डामै सीमित रहन्छ, त्यो हेर्न बाँकी छ,” उनले टिप्पणी गरेका छन् ।
नेता यादवले वर्तमान सरकारको निरन्तरता र स्थायित्वप्रति समेत प्रश्न उठाएका छन् । दलहरूको पछिल्लो गतिविधिले सरकारको भविष्य स्पष्ट हुने उनको भनाइ छ । “प्रतिपक्षबिनाको यो सरकारलाई अप्ठ्यारो पर्नु नपर्ने हो, तर निकट भविष्यमा हुने राष्ट्रिय सभाको निर्वाचनलाई केन्द्रमा राखेर बनेको गठबन्धन, नेकपा (एमाले) को समर्थन र महाधिवेशनमा देखिएको सहकार्यको संकेतले राजनीतिक समीकरण कहिले बदलिन्छ भन्ने प्रश्न उठेको छ,” उनले उल्लेख गरेका छन् ।
उनले अन्त्यमा नवनियुक्त मुख्यमन्त्री, सम्पूर्ण मन्त्रीहरू तथा नवनिर्वाचित सभामुखलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।