धनुषा नगरपालिका–६ मालटोलस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार साँझ भएको सडक दुर्घटनामा प्रहरी असई देवानन्द फनैतको मृत्यु भएको छ भने अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेश बमका अनुसार साँझ करिब साढे ६ बजे इटहरीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३७१८ नम्बरको तेल ट्याङ्करले सोही दिशातर्फ गइरहेका दुईवटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेको प्र २–०३–००१ प ८७२० नम्बरको मोटरसाइकल चालक, इलाका प्रहरी कार्यालय ढल्केवर धनुषामा लेखा प्रमुखका रूपमा कार्यरत प्रहरी असई देवानन्द फनैत गम्भीर घाइते भएका थिए ।
घाइते फनैतलाई मोडल अस्पताल लालगढ लगिएकोमा चिकित्सकले साँझ करिब ७ बजे मृत घोषणा गरेका थिए । उनी कार्यालयको कामका लागि भरतपुरबाट धनुषा फर्किंदै थिए ।
त्यस्तै, प्र २–०१–००३ प ९९९३ नम्बरको मोटरसाइकल चालक धनुषा–९ का रामकिशोर महतो पनि गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि जनकपुर पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय यज्ञभूमिबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
दुर्घटनामा संलग्न तेल ट्याङ्कर, दुवै मोटरसाइकल तथा ट्याङ्कर चालक सुनसरीको उर्लाबारी–१ का ३६ वर्षीय दुर्गा माझीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।