नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न गरिएको १३२ केभी डबल सर्किट प्रसारणलाइनको आजदेखि परीक्षण सुरु गरिएको छ ।
‘बुर्तिबाङ–पौदीअमराई–तम्घास–सन्धिखर्क–गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजना’ अन्तर्गत निर्माण गरिएको उक्त लाइन गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानीय तह हुँदै विस्तार गरिएको हो ।
गुल्मीको रेसुङ्गा नगरपालिका–७ उनाएचौरस्थित तम्घास सवस्टेसनबाट बागलुङको ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित बुर्तिबाङ सवस्टेसनसम्म १३२ हजार भोल्ट क्षमतामा विद्युत् परीक्षण तथा प्रवाह गरिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका आयोजना प्रमुख मनोज चौधरीका अनुसार आजदेखि दुई दिनसम्म परीक्षण सम्पन्न भएपछि मात्र प्रसारणलाइन नियमित सञ्चालनमा ल्याइनेछ । यो लाइन गुल्मीको रेसुङ्गा नगरपालिका–३, ४ र ५, इस्मा गाउँपालिका–२ तथा मुसिकोट नगरपालिका–१, २ र ३ हुँदै बागलुङको बडिगाड गाउँपालिका–२, ५, ६ र ७ र ढोरपाटन नगरपालिका–२ बुर्तिबाङसम्म विस्तार गरिएको छ ।
उच्च भोल्टेजका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले सर्वसाधारणलाई प्रसारणलाइनका टावरमा नचढ्न, तार वा संरचना नछुन, टावर वरिपरि नजान तथा घरपालुवा जनावर खुला रूपमा नछाड्न आग्रह गरेको छ । खतराका संकेत गरिएका स्थानबाट टाढा रहन र बालबालिकालाई सचेत गराउनसमेत अनुरोध गरिएको छ । परीक्षणका क्रममा झिल्का (स्पार्क) देखिएमा वा अन्य जोखिम महसुस भएमा नजिकको प्रहरी चौकी वा प्राधिकरणको कार्यालयमा जानकारी गराउन भनिएको छ ।
प्राधिकरणका अनुसार करिब रु ४ अर्ब ५० करोडभन्दा बढी लागतमा आयोजना सम्पन्न भएको हो । आयोजना सञ्चालनमा आएपछि गुल्मी र बागलुङ जिल्लामा विद्युत् आपूर्ति थप विश्वसनीय, सुदृढ र दीर्घकालीन हुने अपेक्षा गरिएको छ ।
कपिलवस्तुको मोतिपुर सवस्टेसनबाट अर्घाखाँची हुँदै गुल्मीको उनाएचौर र मुसिकोटको पौदीअमराई भएर बुर्तिबाङसम्म विद्युत् प्रवाह गर्ने व्यवस्था मिलाइएको आयोजना प्रमुख चौधरीले बताए ।
यसअघि बुटवलस्थित सवस्टेसनबाट लामो दूरी हुँदै जिल्लामा विद्युत् आपूर्ति गरिँदा पटक–पटक सेवा अवरुद्ध हुने समस्या थियो । नयाँ प्रसारणलाइन र सवस्टेसन सञ्चालनमा आएपछि ती समस्या समाधान भई सहज र नियमित विद्युत् सेवा उपलब्ध हुने विश्वास गरिएको छ ।