मुलुककै प्रसिद्ध शक्तिपीठमध्ये एक छिन्नमस्ता भगवती मन्दिरसम्म पुग्ने राजविराज–छिन्नमस्ता सडक खण्डको जीर्ण अवस्थाप्रति असन्तुष्टि जनाउँदै स्थानीयवासीले लगातार दोस्रो दिन पनि चक्काजाम गरेका छन् ।
आइतबार बिहानदेखि सुरु गरिएको चक्काजाम सोमबार पनि निरन्तरता दिइएको हो । विष्णुपुर गाउँपालिका क्षेत्रअन्तर्गत पर्ने उक्त सडक खण्डमा स्थानीयले ढाट राख्नुका साथै डोजर र टिपर तेर्स्याएर आवागमन पूर्ण रूपमा ठप्प पारेका छन् ।
लामो समयदेखि सडक मर्मत तथा कालोपत्रे कार्यमा ढिलाइ भइरहेको भन्दै स्थानीयले आन्दोलन चर्काएका हुन् । उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
सडक अवरुद्ध हुँदा दुवैतर्फ दर्जनौँ सवारी साधन रोकिएका छन् भने यात्रुहरू समस्यामा परेका छन् । छिन्नमस्ता भगवती मन्दिर दर्शनका लागि गएका तथा फर्किरहेका सयौँ तीर्थयात्रीसमेत अलपत्र परेका छन् ।
राजविराजदेखि छिन्नमस्ता भगवती मन्दिरसम्मको करिब १२ किलोमिटर सडक खण्डमध्ये केही भाग मात्र कालोपत्रे भएको छ भने झण्डै ७ किलोमिटर सडक अझै कालोपत्रे हुन बाँकी छ। जसका कारण सुख्खा मौसममा धुलो र वर्षायाममा हिलोले स्थानीयवासीलाई सास्ती हुने गरेको छ ।
सडक मर्मत तथा स्तरोन्नतिका लागि पटक–पटक दबाबमूलक कार्यक्रम गर्दा पनि आश्वासन बाहेक केही प्राप्त नभएको स्थानीयको गुनासो छ । साथै निर्माण कम्पनीले समेत ढिलो गतिमा काम गरिरहेको भन्दै उनीहरूले तत्काल सडक निर्माण कार्यलाई तीव्रता दिन माग गरेका छन् ।