गण्डक नहरस्थित तिलाबे खोलामा निर्माणाधीन बेलीब्रिज (फलामे पुल) जडानको काम सुस्त गतिमा भइरहेको छ ।
ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण निर्माण कार्य अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय, वीरगञ्ज अन्तर्गत निर्माण भइरहेको उक्त पुलको हालसम्मको भौतिक प्रगति करिब ३० प्रतिशत मात्र पुगेको छ । कार्यालयका अनुसार पुल निर्माणको ठेक्का भक्तपुरको लोकन्थलीस्थित ममता इन्टरप्राइजेज एन्ड कन्स्ट्रक्सन प्रालिले लिएको हो ।
परियोजनाको कुल लागत करिब २ करोड ४६ लाख ६० हजार ८ सय १२ रुपैयाँ रहेको छ । सम्झौताअनुसार निर्माण कार्य सन् २०२५ डिसेम्बर १५ देखि सुरु भई २०२६ मे १५ भित्र सम्पन्न गर्नुपर्ने छ । तर कामको सुस्त गतिका कारण निर्धारित समयमै निर्माण सम्पन्न हुनेमा अन्योल देखिएको छ ।
तीन वर्षअघि असार महिनामा आएको बाढीले सोही स्थानमा रहेको आरसीसी पुलमा क्षति पुर्याएपछि आवागमनमा समस्या उत्पन्न भएको थियो । पुलको पिलरमा क्षति पुगेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी साधन आवागमनमा रोक लगाइएको छ ।
यद्यपि पैदलयात्री, साइकल तथा मोटरसाइकल प्रयोगकर्ताहरू जोखिम मोलेर पुल प्रयोग गर्न बाध्य छन् ।
जिल्ला सदरमुकाम वीरगञ्जलाई उत्तरी–पश्चिमी भेगसँग जोड्ने गण्डक नहरको एप्रोच सडकमा पर्ने यो पुलबाट जिल्लाका करिब ४० प्रतिशत बासिन्दा आवागमन गर्ने गरेका छन् । पुल पुनर्निर्माणमा ढिलाइ हुँदा स्थानीयले दैनिक सास्ती भोग्नुपरेको छ ।
स्थानीयका अनुसार पुलमा थप क्षति पुगेमा गण्डक नहरको साइफनमा समेत असर पर्न सक्ने र सम्पूर्ण नहर प्रणाली अवरुद्ध हुने जोखिम बढेको छ ।