पर्साको पोखरिया नगरपालिका मा कार्यरत लेखापाल रामवीर चौरसियामाथि आर्थिक अनियमितता तथा कमिशनखोरीका गम्भीर आरोपहरू सार्वजनिक भएका छन् ।
स्थानीय स्रोतका अनुसार चौरसियाले नगरपालिकामा सेवा प्रदान गर्ने ठेकेदार, सामग्री आपूर्तिकर्ता तथा अन्य सेवाग्राहीहरूसँग भुक्तानी प्रक्रियामा ठूलो रकमको कमिशन माग्ने गरेको आरोप छ । विनाकमिशन कुनै पनि भुक्तानी प्रक्रिया अघि नबढाउने प्रवृत्ति रहेको दाबी गरिएको छ ।
पाँचौं तहमा कार्यरत रहेका उनले आन्तरिक बढुवामार्फत छैटौं तहमा पदोन्नति पाउँदा करिब चार लाख रुपैयाँ कमिशन दिएको र उक्त रकम असुल्न कमिशनलाई माध्यम बनाएको आरोप स्रोतको छ ।
नगरपालिकामा करार, अस्थायी तथा स्थायी गरी सयौं कर्मचारीले करिब १२ महिनादेखि तलब नपाएको गुनासो गरिरहेका बेला लेखापाल चौरसियाले जिम्मेवारी सम्हालेपछि विभिन्न शीर्षकमा खर्च देखाउँदै करिब ९० हजार रुपैयाँ आफ्नो खातामा जम्मा गरेको आरोप लागेको छ ।
यस्तै, आफ्ना निकटका कर्मचारीहरूलाई भ्रमण भत्ता शीर्षकमा लाखौं रुपैयाँ भुक्तानी गरिएको आरोपसमेत लागेको छ, जसले नगरपालिकाको आर्थिक पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ ।
उक्त विषयमा निष्पक्ष छानबिनको माग स्थानीय तहमा बढ्दै गएको छ । यद्यपि यसबारे नगरपालिकाका जिम्मेवार अधिकारीहरूले औपचारिक प्रतिक्रिया दिन मानेका छैनन् ।