नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु)मा पुनः डा. चुमनलाल दास नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयको नीति, योजना तथा कार्यक्रम महाशाखामा कार्यरत रहेका डा. दासलाई काज फिर्ता गर्दै पुनः नारायणी अस्पतालको मेसुको जिम्मेवारीमा पठाएको हो ।
यसअघि २०८१ असोज पहिलो साता पनि डा. दासलाई सोही अस्पतालको मेसुको जिम्मेवारी दिइएको थियो । करिब एक वर्ष उक्त जिम्मेवारी सम्हालेपछि उनलाई मन्त्रालयको नीति तथा योजना महाशाखामा सरुवा गरिएको थियो । तर बिहीबार मन्त्रालयले एघारौँ तहका उच्च कर्मचारीहरूको सरुवा तथा पदस्थापन गर्दै पुनः उनलाई नारायणी अस्पतालमा फिर्ता पठाएको हो ।
स्वास्थ्य मन्त्री निशा मेहताको मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरूमा समेत हेरफेर गरिएको छ ।
निर्णयअनुसार राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रकी निर्देशक यशोदा अर्याल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रोशन न्यौपाने तथा हालै एघारौँ तहमा बढुवा भएका डा. गुणनिधि शर्मालाई मन्त्रालयका महत्त्वपूर्ण महाशाखामा खटाइएको छ । तर उनीहरूलाई कुन–कुन महाशाखाको जिम्मेवारी दिइएको भन्ने औपचारिक विवरण अझै सार्वजनिक भइसकेको छैन ।
यस्तै, स्वास्थ्य समन्वय महाशाखामा रहेका डा. भीम सापकोटालाई हेटौँडास्थित किटजन्य प्रयोगशालामा सरुवा गरिएको छ भने गुणस्तर मापन तथा निरीक्षण महाशाखाका प्रमुख डा. सरोज शर्मालाई वीर अस्पतालमै काज फिर्ता गरिएको छ ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेललाई पनि काज फिर्ता गर्दै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । यद्यपि उनी हाल बोर्डको कार्यकारी प्रमुखकै भूमिकामा कार्यरत रहने बताइएको छ ।
मन्त्रालयले सेवा प्रवाहलाई प्रभावकारी बनाउन र दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन सुधार गर्ने उद्देश्यले व्यापक सरुवा तथा पुनःपदस्थापन गरिएको जनाएको छ । पछिल्लो समय स्वास्थ्य संस्थामा नेतृत्व परिवर्तन र व्यवस्थापन सुधारका लागि मन्त्रालयले नियमित रूपमा काज फिर्ता तथा सरुवा प्रक्रिया अघि बढाउँदै आएको छ ।