रौतहटको सीमावर्ती बौधिमाई नगरपालिकाका मेयर प्रदीप यादव पुनः विवादमा तानिएका छन् ।
नगरकै एक विद्यालयमा कार्यरत शिक्षकलाई कार्यालयमै नियन्त्रणमा राखी कुटपिट गरिएको आरोप सार्वजनिक भएपछि घटनाले स्थानीय तहमा ठूलो तरंग पैदा गरेको छ । शंकर गुदर माध्यमिक विद्यालय, सरमुजावामा कार्यरत शिक्षक रामबाबु यादवले आफूलाई छलफलका लागि भन्दै नगरपालिकामा बोलाएर दुर्व्यवहार गरिएको आरोप लगाएका छन् । उनका अनुसार नगरपालिका लेखापाल तथा शिक्षा संयोजक रमेश यादवको आग्रहमा शुक्रबार कार्यालय पुगेपछि मेयर प्रदीप यादव, वडाध्यक्ष विन्देश्वर यादव र कार्यपालिका सदस्य सुनिल जयसवालसहितको समूहले आफूलाई एक कोठाभित्र करिब सात घण्टासम्म नियन्त्रणमा राखेको थियो ।
पीडित शिक्षक यादवले दिउँसो करिब २:३० बजेदेखि राति ९ बजेसम्म आफूलाई बाहिर निस्कन नदिई गालीगलौज, मानसिक दबाब तथा कुटपिट गरिएको दाबी गरेका छन् । उनले ज्यान मार्ने धम्कीसमेत दिइएको आरोप लगाएका छन् । घटनापछि न्यायको माग गर्दै प्रहरीमा पुगेका यादवले प्रभावकारी सुनुवाइ नभएको गुनासो गरेका छन् । स्थानीयवासीले पनि घटना सार्वजनिक भइसक्दा समेत सम्बन्धित निकाय मौन रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालले घटनासम्बन्धी लिखित निवेदन प्राप्त भएको पुष्टि गरेका छन् । उनका अनुसार पीडित शिक्षकको स्वास्थ्य परीक्षण (घाउ जाँच) गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ । यता मेयर प्रदीप यादवले भने आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन् । उनका अनुसार शिक्षक रामबाबु यादवले सामाजिक सञ्जालमा नगरपालिकाका जनप्रतिनिधिविरुद्ध अभद्र टिप्पणी गरेपछि स्पष्टीकरणका लागि मात्र कार्यालयमा बोलाइएको थियो। उनले कुटपिट वा नियन्त्रणमा राख्ने कुनै कार्य नभएको दाबी गर्दै “हामीले केवल नैतिकताको विषयमा छलफल गरेका हौँ” भन्ने प्रतिक्रिया दिएका छन् ।
स्थानीयका अनुसार मेयर यादवमाथि यसअघि पनि कर्मचारी तथा सेवाग्राहीमाथि दुर्व्यवहारका विभिन्न आरोप लाग्दै आएका छन् । स्वास्थ्यकर्मीलाई शौचालयमा थुनेको, शिक्षकलाई नियन्त्रणमा लिएर हातपात गरेको, योजना प्रमुखलाई डोरीले बाँधेको जस्ता गम्भीर आरोपसमेत विगतमा सार्वजनिक भएका थिए ।
यसैबीच, केही समयअघि मधेश प्रदेशकी एक उच्च पदस्थ अधिकारीसँग पनि नगरपालिकाभित्र विवाद भएको चर्चा चलेको थियो। मन्त्रालय परिसरमा भएको भनिएको उक्त घटनापछि प्रहरीको सहयोगमा अवस्था नियन्त्रणमा लिइएको विषय पनि सामाजिक सञ्जालमा चर्चित बनेको थियो ।
लगातार विवाद र आरोप सार्वजनिक भइरहे पनि सम्बन्धित निकायले ठोस कदम नचालेको भन्दै स्थानीयवासीले निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन् ।