धनुषाको मिथिला नगरपालिका का ४ सय ८३ भूमिहीन सुकुमवासी परिवारलाई आज एक समारोहबीच लालपुर्जा वितरण गरिएको छ ।
नगरपालिका–६, ७, ८ र ९ का सुकुमवासी परिवारलाई लालपुर्जा वितरण गरिएको हो । जिल्लास्थित नापी कार्यालय धनुषा अन्तर्गत दुई नम्बर टोली ढल्केवरले गाउँब्लकका जमिन लालपुर्जाबिना भोगचलन गर्दै आएका सुकुमवासीलाई कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरिएको जनाएको छ ।
टोलीका प्रमुख सीयाराम साहका अनुसार आवश्यक कागजात संकलन तथा नापनक्सा प्रक्रिया पूरा गरेपछि लालपुर्जा वितरण गरिएको हो । उनका अनुसार टोलीको कार्यालयमा ६ सय ५८ जनाले लालपुर्जाका लागि निवेदन दिएका थिए ।
यसअघि पनि सो टोलीले मिथिला नगरपालिकाको वडा नं. १, ६ र ७ का ६४ भूमिहीन सुकुमवासी परिवारलाई सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरिसकेको थियो। गाउँब्लकको जग्गा नापजाँच गरेर लालपुर्जा वितरण प्रक्रिया अघि बढाइएको प्रमुख साहले जानकारी दिए । आज आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल, मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतो लगायतका जनप्रतिनिधिले सम्बन्धित लाभग्राहीलाई लालपुर्जा हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मण्डलले लामो संघर्षपछि लालपुर्जा प्राप्त गरेका परिवारलाई बधाइ दिँदै प्रक्रियाबाट छुटेका भूमिहीनलाई पनि यथाशीघ्र कानुनी प्रक्रिया पूरा गरी भोगाधिकार सुनिश्चित गर्न आग्रह गरे । साथै पालिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरूलाई आपसी सहकार्य र समन्वयमा काम गर्न सुझाव दिए ।
नगरप्रमुख महतोले लामो समयदेखि लालपुर्जा नपाएका भूमिहीन परिवारले अहिले स्वामित्व प्राप्त गरेको उल्लेख गर्दै सबैको सहकार्यमा नगर विकासलाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । नापी कार्यालय प्रमुख उमेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुई नम्बर टोलीका प्रमुख सीयाराम साह, वडा नं. ६ का वडाध्यक्ष नन्दकिशोर यादव, वडा नं. १ का वडाध्यक्ष योगी महतो, वडा नं. ५ का वडाध्यक्ष रामचन्द्र महतोलगायतले मन्तव्य राखेका थिए ।
नापी कार्यालयका अनुसार धनुषा जिल्लामा रहेका ७५ गाउँब्लकमध्ये ७२ वटा गाउँब्लकको जग्गा नापजाँच सम्पन्न भइसकेको छ भने १२ वटा गाउँब्लकमा धनीपुर्जा वितरण भइसकेको छ ।