काठमाडौं । संसदमा उपसभामुख इन्दिरा राना मगर र नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गरेकाे सहकारी ठगीको विषयमा आरोप–प्रत्यारोपकाे विषयले सदन तातेकाे छ ।
उपसभामुख मगरले गरेकाे लेटरप्याड दुरुपयोगको विषयलाई लिएर एमाले र कांग्रेसले पदबाट राजिनामा दिएर मार्ग प्रसस्त पार्न धारणा राखेका थिए । यस्तै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगी प्रकरणलाई डाइभर्ट गर्न उपसभामुखको लेटरप्याड दुरुपयोग गरेको आरोप लगाएकाे बारे रासपाले धारणा राखेका थिए ।
मंगलबार संसदमा भएकाे प्रमुख विषयवस्तुहरू यस्ताे छ ।
संसदमा प्रमुख प्रतिपक्षी नेकपा एमाले र कांग्रेसले संख्याको बलमा लोकतन्त्रमाथि धावा बोलेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले सडकबाट प्रतिरोध गर्न आफूहरु पछि नहट्ने चेतावनी दिएका थिए । उनले उपसभामुखमाथि महाभियोग लगाउन खोजिएको दाबी गर्दै संवैधानिक परिषद्मा बहुमत नपुग्ने परिस्थितिमा उपसभामुखमाथि प्रहार भएको बताए ।
नेकपा एमालेका नेता गोकुल बास्कोटाले उपसभामुख इन्दिरा राना मगरमाथि लागेको आरोपबारे छानबिन गर्न राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने धारणा राखेका थिए । यता, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुखलाई पदबाट हटाए माओवादी चुप लागेर नबस्ने बताएका थिए । उनले यस विषयमा तिव्र प्रतिवाद गर्ने चेतावनी समेत दिए ।
संसदमा उठेको आरोपको विषयमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूले मितेरी सहकारीको रकम अपचलन नगरेको बताएका छन् । उनले २०७६ साल फागुनमै सम्बन्ध विच्छेद भइसकेकी पूर्वपत्नीसँग जोडेर आफूलाई ठग भन्न नमिल्ने जिकिर गरे । गुरुङले आफूलाई कुनै आशंका भए तुरुन्त छानबिन गर्नसमेत आग्रह गरेका छन् ।
संसदमा आज भएको उक्त आरोप–प्रत्यारोपले मुलुकको राजनीतिक तापक्रमलाई बढाएको छ ।