बाराको परवानीपुर गाउँपालिका–५ बहुअरी टोलस्थित स्वच्छ समाज युवा क्लबले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान गरेको छ ।
आयोजित कार्यक्रममा टोलका २५ जना विद्यार्थीलाई तेस्रोपटक सामूहिक रूपमा सम्मान गरिएको हो । सम्मानित हुने विद्यार्थीहरूमा सुषमा कुमारी पटेल, अनामिका कुमारी पटेल, आशिष पटेल, मुस्कान कुमारी, राहुल ठाकुर, राहुल कुमार, निखिल पटेल, आशिषकुमार रामलगायत रहेका छन् ।
कार्यक्रममा सबैभन्दा बढी जिपिए ल्याउने प्रिन्सकुमार साहलाई विशेष सम्मान गरिएको थियो । उनलाई वडाध्यक्ष रामेश्वर साह कलवारले नगद रु पाँच हजार प्रदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य जयप्रकाश पटेल ले स्वच्छ समाज युवा क्लबले निरन्तर रूपमा विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको मनोबल बढाउने कार्य गरेको भन्दै प्रशंसा गरे । उनले विद्यार्थीहरूलाई संस्कारसहित उच्च शिक्षा हासिल गर्न आग्रह गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिए ।
समाजसेवी शिवशङ्कर पटेलले बहुअरी टोललाई शिक्षित र बुद्धिजीवी उत्पादन गर्ने गाउँका रूपमा चिनाउँदै यस्ता कार्यक्रमले गाउँको पहिचान अझ मजबुत बनाउने बताए । समाजसेवी तथा अधिवक्ता रामचन्द्र सिंहले अनुशासन, ठूलाबडाप्रति सम्मान र सिकाइलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । युवा नेता सञ्जु साहले शिक्षा नै सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई उच्च शिक्षातर्फ अग्रसर हुन प्रेरित गरे ।
नेकपा नेता अजय पटेलले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गर्ने घोषणा गरे भने हेरिटेज पब्लिक स्कुल का सञ्चालक मङ्गेश्वर यादवले योग्य तथा विपन्न विद्यार्थीलाई निश्शुल्क अध्ययनको अवसर दिने बताए ।
कार्यक्रममा क्लबका कोषाध्यक्ष मुर्तुजा आलमले स्वागत मन्तव्य राखेका थिए भने सचिव त्रिलोकप्रताप सिंहले कार्यक्रम सञ्चालन गरेका थिए । क्लबका अध्यक्ष भूपेन्द्र पटेलले समापन गर्दै आगामी दिनमा स्वास्थ्य शिविर तथा खेलकुद कार्यक्रमलाई प्राथमिकता दिने जानकारी दिए ।