प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति फिर्ता लिन माग गरेका छन् ।
सोमबार कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रको स्वाभिमान कमजोर बनाएको भन्दै क्षमायाचनासहित फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकपछि एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली जनताको स्वाभिमान कमजोर बनाएको र राष्ट्रको शिर झुकाएको भन्दै त्यसलाई सच्याउनुपर्ने निर्णय भएको जानकारी दिइन् । उनले अभिव्यक्ति नसच्चिएसम्म संसदमा विरोध जारी रहने चेतावनीसमेत दिइन् ।
विपक्षी दलहरूले संसदलाई एकतर्फी ढंगले अघि बढाइएको र नियमावली पारित गर्दा प्रतिपक्षका सुझावहरू बेवास्ता गरिएको भन्दै आपत्ति जनाएका छन् । उनीहरूले संसदमा सबै सदस्यको अपनत्व हुनेगरी प्रक्रिया अघि बढाउनुपर्ने मागसमेत राखेका छन् ।
कांग्रेस सचेतक निश्कल राईले प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको आरोप लगाउँदै सदनमै स्पष्टिकरण दिनुपर्ने बताए । त्यस्तै राप्रपा प्रमुख सचेतक खुसीबु ओलीले सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीले पुनः संसदमा आएर स्पष्ट धारणा राख्नुपर्ने माग गरे ।
बैठकमा कांग्रेस, एमाले, राप्रपा लगायतका विभिन्न विपक्षी दलका सांसदहरूको सहभागिता रहेको थियो ।