वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लिखत सम्बन्धी कसुरको मुद्दामा पक्राउ परेका छन् ।
जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको आठ दिनपछि पर्सा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकका अनुसार मेयर सिंहलाई पर्साको ठोरी क्षेत्रमा लुकेर बसिरहेको अवस्थामा विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
जेठ १२ गते पक्राउ पुर्जी जारी भएपछि मेयर सिंह जेठ १३ गते अदालतमा उपस्थित भएका थिए । अदालतमा सुनुवाइ हुन नसकेपछि उनलाई कानुनी प्रक्रियाअनुसार थुनामा पठाईनु पर्नेमा उनी अदालत परिसरबाटै फरार भएका थिए ।
फरार रहेका सिंह भारतको बिहार राज्यस्थित सिवान क्षेत्रमा जोगीको भेषमा देखिएका थिए । विशेष सूचनापछि प्रहरीले विशेष अपरेशन सञ्चालन गरी उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा गत जेठ १ गते सरकारी वकिलको कार्यालयले उनीसहित चार जनाविरुद्ध झुठो विवरण पेस गरी नागरिकता बनाएको र लिखत सम्बन्धी कसुरका ४ वटा मुद्दा दायर गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालय पर्साले लिखत सम्बन्धी कसुरमा दायर गरेको मुद्दामा मेयर सिंह सहित चारजनालाई ७ वर्ष कैद र ७० हजार जरिवाना वा दुवै सजाय माग गरेको छ ।
पक्राउ परेका मेयर सिंहलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।