वीरगञ्ज । ठगीसम्बन्धी कसुरको मुद्दामा फरार रहेका हरिनारायण रौनियार सहित चार जनालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले सम्बन्धित प्रहरी कार्यालयलाई पत्राचार गरेको छ ।
अरुणकुमार साहको जाहेरीका आधारमा नेपाल सरकार वादी र धनबहादुर बस्नेतसमेत प्रतिवादी रहेको ठगीसम्बन्धी कसुरको मुद्दाको अनुसन्धानका क्रममा फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले पत्राचार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान शाखाले पठाएको पत्रअनुसार, घटनापछि फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गरी पक्राउ गर्न धनुषा जिल्ला अदालतबाट २०८३ साल असार २० गते पक्राउ पुर्जी जारी गर्न अनुमति प्राप्त भएको थियो ।
अदालतबाट अनुमति प्राप्त भएपछि प्रतिवादीहरूको सम्बन्धित घरठेगाना तथा उनीहरू लुकिछिपी बस्न सक्ने सम्भावित स्थानहरूमा खोजतलास गरी फेला परेमा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइदिन सम्बन्धित प्रहरी कार्यालयलाई अनुरोध गरिएको पत्रमा उल्लेख छ ।
पक्राउका लागि खोजी गर्न भनिएका व्यक्तिहरूमध्ये सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित बुद्ध–ट्रान्स–बस्ने जेभी कम्पनीका सञ्चालक ३० वर्षीय धनबहादुर बस्नेत रहेका छन् ।
त्यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका–७ निवासी ५८ वर्षीय हरिनारायण रौनियार, सोही स्थानकी ३६ वर्षीया पीसीका सञ्चालिका श्रुति रौनियार र ४५ वर्षीय सुमित रौनियारलाई पनि पक्राउ गरी अनुसन्धानका लागि उपस्थित गराउन पत्राचार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले यी चारैजनाको खोजतलास तथा पक्राउका लागि जिल्ला प्रहरी कार्यालय पर्सासहित सम्बन्धित प्रहरी निकायलाई जानकारी गराएको देखिन्छ ।
प्रहरीको पत्रमा प्रतिवादीहरूलाई उनीहरूको सम्बन्धित घरठेगाना तथा लुकिछिपी बस्न सक्ने सम्भावित स्थानमा समेत खोजी गर्न र फेला परे तत्काल पक्राउ गरी धनुषा प्रहरी कार्यालयमा पठाइदिन अनुरोध गरिएको छ ।
यस घटनामा अरुणकुमार साहको जाहेरीका आधारमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको हो ।
पक्राउपछि प्रतिवादीहरूमाथि अनुसन्धान प्रक्रिया अगाडि बढ्ने प्रहरीले जनाएको छ ।