बलिउड अभिनेता Aamir Khan तेस्रो पटक विवाह गर्न लागेका छन् । उनले बेंग्लुरुकी ४८ वर्षीया गौरी स्प्राट्टसँग आगामी ५ जुलाईमा विवाह गर्ने भएका हुन् ।
दुवैबीच विगत दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ । गत वर्ष १४ मार्चमा आफ्नो ६०औँ जन्मदिनका अवसरमा आमिरले गौरीलाई सार्वजनिक रूपमा ‘पार्टनर’ भनेर परिचय गराएका थिए। गौरी र आमिरको चिनजान भने करिब २५ वर्षअघिदेखिको रहेको जनाइएको छ ।
बेलायतमा जन्मिएकी गौरी स्प्राट्टका हजुरबा फिलिप स्प्राट्ट सन् १९२० मा भारत आएका थिए। उनी कम्युनिस्ट पृष्ठभूमिका व्यक्ति रहेको र भारतको स्वतन्त्रता आन्दोलनमा समेत सहभागी भएको बताइन्छ । हाल गौरी बेंग्लुरुमा सैलुन चेन सञ्चालन गर्दै आएकी छन् र आमिर खानको प्रोडक्सन ब्यानरसँग पनि आबद्ध छिन् ।
आमिरले हालै भनेका थिए, “गौरीसँगको सम्बन्ध स्थिर महसुस भइरहेको छ । हामी एकअर्काप्रति निकै गम्भीर र प्रतिबद्ध छौं ।” उनले विवाहलाई केवल औपचारिकता मात्र भएको बताउँदै सम्बन्धलाई लामो यात्राको रूपमा अघि बढाउने उल्लेख गरेका छन् ।
यसअघि आमिर खानले सन् १९८६ मा रीना दत्तसँग पहिलो विवाह गरेका थिए, जुन २००२ मा सम्बन्धविच्छेदमा टुंगिएको थियो । उनीहरूका दुई सन्तान छन्—जुनैद र इरा। त्यसपछि उनले सन् २००५ मा किरण रावसँग दोस्रो विवाह गरेका थिए, जसबाट उनीहरूका एक छोरा आजाद छन् । सन् २०२१ जुलाईमा उनीहरूले सम्बन्धविच्छेदको घोषणा गरेका थिए । तर सम्बन्धविच्छेदपछि पनि आमिरको दुवै पूर्व पत्नीहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम रहेको बताइन्छ ।
आमिर र गौरीको विवाह सीमित परिवारका सदस्यहरूको उपस्थितिमा, कुनै तडकभडक बिना आमिरकै घरमा साधारण रूपमा हुने बताइएको छ ।