कन्नड फिल्मका चर्चित अभिनेता यश यस वर्ष दीपावलीको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रामायण’मा रावणको भूमिकामा देखिँदैछन् ।
रणवीर कपुर राम र साई पल्लवी सीताको भूमिकामा रहेको यस फिल्ममा यशले अभिनयसँगै सहनिर्माताको जिम्मेवारीसमेत सम्हालेका छन्। नितेश तिवारीको निर्देशनमा बनेको फिल्मको बजेट, कलाकार र कथावस्तुलाई लिएर दर्शकमाझ चर्चा भइरहेको छ। फिल्मको पहिलो भाग नोभेम्बर ५ मा प्रदर्शनमा ल्याउने तयारी गरिएको छ। पौराणिक पात्र रावणको भूमिकामा यशको प्रस्तुतिलाई लिएर पनि दर्शकमा उत्सुकता बढेको छ ।
सन् १९८६ जनवरी ८ मा भारतको कर्नाटक राज्यको हासन जिल्लामा जन्मिएका यशको वास्तविक नाम नवीन कुमार गौडा हो। तर, उनी अहिले आफ्नो वास्तविक नामभन्दा ‘रकिङ स्टार यश’का रूपमा बढी परिचित छन्। सामान्य परिवारबाट आएका यशले संघर्षपूर्ण यात्रापछि कन्नड फिल्म उद्योगमा आफ्नो छुट्टै पहिचान बनाएका हुन् l
बाल्यकालदेखि नै हिरो बन्ने सपना
यशको परिवारको फिल्म क्षेत्रसँग कुनै सम्बन्ध थिएन। उनका पिता बस चालक थिए। यद्यपि, यशलाई बाल्यकालदेखि नै अभिनय, नृत्य र नाटकमा रुचि थियो। उनी विद्यालयमा हुने नाटक तथा नृत्य प्रतियोगितामा सहभागी हुने गर्थे।
सन् २०१४ मा जी कन्नडको कार्यक्रम ‘वीकेन्ड विथ रमेश’मा कुराकानी गर्दै यशले दर्शकको ताली र प्रशंसाले आफूलाई अभिनयतर्फ आकर्षित गरेको बताएका थिए। शिक्षकहरूले ‘हिरो’ भनेर बोलाउँदा आफूलाई खुसी लाग्ने गरेको उनको भनाइ थियो। यही रुचि क्रमशः अभिनयलाई नै करियर बनाउने सपनामा परिणत भयो ।
तर, उनको यो सपना पूरा गर्न सहज थिएन। उनका पिता बेंगलुरु महानगर परिवहन निगममा चालकका रूपमा कार्यरत थिए। यशले एक अन्तर्वार्तामा आफ्ना पिताको दैनिक कमाइ १४ रुपैयाँ रहेको बताएका थिए। परिवारमा उनका अतिरिक्त आमा र एक बहिनी छन् ।
परिवारले उनलाई सरकारी अधिकारी बनेको देख्न चाहेको थियो। त्यसैले फिल्ममा अभिनेता बन्ने निर्णयप्रति सुरुमा परिवार त्यति उत्साहित थिएन । घरको आर्थिक अवस्थाका कारण यशले पढाइ छाडेर परिवारको किराना पसल सञ्चालनमा समेत सहयोग गर्नुपरेको थियो।
खल्तीमा ३०० रुपैयाँ बोकेर बेंगलुरु पुगे
सन् २०१९ मा ‘द न्युज मिनेट’सँगको अन्तर्वार्तामा यशले अभिनयमा भविष्य खोज्दै घर छाडेर बेंगलुरु पुगेको प्रसङ्ग सुनाएका थिए। त्यतिबेला उनको खल्तीमा जम्मा ३०० रुपैयाँ मात्र थियो।
नयाँ सहर, सीमित पैसा र अनिश्चित भविष्यका बीच उनले आफ्नो सपना पूरा गर्ने प्रयास जारी राखे। यशका अनुसार, उनी संघर्ष गर्न डराउँदैनथे। घर फर्किएमा पुनः बेंगलुरु आएर अभिनयमा प्रयास गर्ने अवसर नपाउन सक्ने चिन्ता पनि उनलाई थियो ।
उनका आमाबुवाले उनलाई फिल्म क्षेत्रमा प्रयास गर्ने स्वतन्त्रता दिएका थिए। तर, अभिनयमा सफल हुन नसके आफूले भनेअनुसारको काम गर्नुपर्ने सर्त राखेका थिए। यही चुनौतीका बीच यशले आफ्नो करियर अघि बढाए ।
‘थिएटरले मेरो व्यक्तित्व परिवर्तन गर्यो’
यशको अभिनय यात्रामा थिएटरको महत्त्वपूर्ण भूमिका रह्यो। उनका साथी नन्जुन्डले उनलाई थिएटरसँग परिचित गराएका थिए। सुरुमा पौराणिक नाटकबारे मात्र जानकारी भएका यशले थिएटरमा आबद्ध भएपछि सामाजिक नाटक र अभिनयका विविध पक्ष बुझ्ने अवसर पाए।
‘वीकेन्ड विथ रमेश’ कार्यक्रममा उनले ‘बेनका’ थिएटर समूहमा आबद्ध भएपछि आफ्नो संसार नै बदलिएको बताएका थिए। थिएटरले आफूलाई फरक व्यक्ति बनाएको र व्यक्तित्व विकासमा ठूलो भूमिका खेलेको उनको भनाइ थियो । थिएटरबाट प्राप्त अनुभवले उनलाई अभिनयको आधार तयार गर्न सहयोग गर्यो। त्यसपछि उनले टेलिभिजन हुँदै फिल्म क्षेत्रमा आफ्नो यात्रा अघि बढाए ।
संयोगले पाएको भूमिकाले दिलायो पहिचान
यशले सन् २००७ मा प्रदर्शनमा आएको ‘जम्बाडा हुडुगी’ फिल्मबाट सहायक अभिनेताका रूपमा फिल्म क्षेत्रमा पदार्पण गरेका थिए। त्यसअघि उनले ‘उत्तरायण’ र ‘नन्दा गोकुला’लगायत टेलिभिजन कार्यक्रमहरूमा अभिनय गरिसकेका थिए । ‘नन्दा गोकुला’मा यश र राधिका पण्डितको जोडीलाई दर्शकले रुचाएका थिए। यसले उनलाई टेलिभिजन दर्शकमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेल्यो।
सन् २००८ मा प्रदर्शनमा आएको ‘मोगिना मनसु’ उनको करियरको महत्त्वपूर्ण मोड बन्यो। यशले उक्त फिल्ममा भूमिका पाएको प्रसङ्ग पनि रोचक छ। उनका अनुसार, फिल्मका लागि सुरुमा अर्कै अभिनेतालाई छनोट गरिएको थियो। तर, शुभमुहूर्तका बेला ती अभिनेता मोटरसाइकल दुर्घटनामा घाइते भएपछि निर्माण टोलीले अर्को कलाकार खोज्नुपरेको थियो। अन्ततः उक्त भूमिकाका लागि यश छनोट भए।
फिल्मका निर्देशक शशांकले पनि यशलाई टेलिभिजन धारावाहिकमा देखेका थिए र उनको अभिनयबाट प्रभावित भएका थिए। नयाँ कलाकारलाई लिएर फिल्म निर्माण गर्ने क्रममा उनले यशलाई उपयुक्त ठानेका थिए।
यशले हरेक दृश्यलाई प्रभावकारी बनाउन मेहनत गर्ने, अभिनयका विभिन्न विकल्प प्रस्तुत गर्ने र आफ्नो भूमिकालाई गहिराइमा बुझ्ने प्रयास गरेको निर्देशक शशांकले बताएका थिए।
‘मोगिना मनसु’ले बक्स अफिसमा राम्रो प्रदर्शन गर्नुका साथै यशलाई उत्कृष्ट सहायक अभिनेताको फिल्मफेयर पुरस्कार दिलायो। यसले उनको अभिनय यात्रालाई थप गति दियो।
‘केजीएफ’ले बनायो देशव्यापी स्टार
‘मोगिना मनसु’पछि यशले ‘गुग्ली’ र ‘मिस्टर एन्ड मिसेज रामाचारी’जस्ता फिल्ममा अभिनय गरे। ‘गुग्ली’ले विशेषगरी कलेजका विद्यार्थीमाझ उनको लोकप्रियता बढायो भने ‘मिस्टर एन्ड मिसेज रामाचारी’ले उनलाई कन्नड फिल्म उद्योगमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्यो। उक्त फिल्ममा उनकी पत्नी राधिका पण्डितले पनि अभिनय गरेकी थिइन्।
यद्यपि, यशलाई कन्नड फिल्म उद्योगको सीमाभन्दा बाहिर देशव्यापी पहिचान दिलाउने फिल्म ‘केजीएफ’ बन्यो। यस फिल्मको सफलतापछि हिन्दी भाषी क्षेत्रका दर्शकमाझ पनि उनको लोकप्रियता बढ्यो।
फिल्म समीक्षकबाट निर्माता बनेकी सुनयना सुरेशका अनुसार, ‘केजीएफ’ले यशलाई अन्य कलाकारभन्दा फरक स्थानमा उभ्यायो। विशेषगरी उत्तर प्रदेश र बिहारजस्ता हिन्दी भाषी क्षेत्रका दर्शकमाझ उनले बलियो उपस्थिति बनाए।
यसरी टेलिभिजन र थिएटरबाट सुरु भएको उनको यात्रा राष्ट्रिय स्तरमा चर्चित अभिनेताको पहिचानसम्म पुग्यो।
रावणको भूमिकामा यशका लागि चुनौती
सन् २०२६ को कमिक कन्भेन्सनमा रावणको भूमिका निर्वाह गर्ने विषयमा प्रतिक्रिया दिँदै यशले यो पात्र जटिल रहेको बताएका थिए। उनका अनुसार, रावण यस्तो पौराणिक पात्र हुन्, जसको छवि दर्शकको मनमा लामो समयदेखि स्थापित छ।
यशले रावणलाई मानिसहरूले घृणा गर्ने र हरेक वर्ष उनको पुतला जलाउने गरेको उल्लेख गर्दै यसले पनि उक्त पात्रको ऐतिहासिक तथा सांस्कृतिक प्रभाव देखाउने बताएका थिए।
उनका अनुसार, कुनै नयाँ कथामा नयाँ पात्र प्रस्तुत गर्दा अभिनेताले नै त्यसको पहिचान निर्माण गर्ने अवसर पाउँछ। तर, रावणजस्तो पात्रको हकमा दर्शकको मनमा पहिल्यै एउटा निश्चित छवि बनेको हुन्छ। विभिन्न कलाकारले विगतमा फरक–फरक शैलीमा प्रस्तुत गरिसकेको पात्रलाई नयाँ तरिकाले पर्दामा उतार्नु चुनौतीपूर्ण हुन्छ।
यशले रावणको चरित्रलाई बुझ्न आफूले विशेष प्रयास गरिरहेको बताएका थिए। उनका अनुसार, उक्त पात्रले गरेका काम र त्यसपछाडिको सोच बुझ्नु महत्त्वपूर्ण छ। रावणको भूमिकालाई प्रभावकारी बनाउन उनको व्यक्तित्व, निर्णय र ती निर्णयपछाडिका कारण बुझेर प्रस्तुत गर्नु आवश्यक रहेको यशको भनाइ थियो।
नयाँ अवतारमा यशलाई हेर्ने प्रतीक्षा
सामान्य परिवारबाट आएका यशले थिएटर, टेलिभिजन र कन्नड फिल्म हुँदै देशव्यापी पहिचान बनाएका छन्। ‘केजीएफ’को सफलतापछि उनको लोकप्रियता थप विस्तार भएको छ ।
अब ‘रामायण’मा रावणको भूमिकामार्फत उनी अर्को महत्त्वपूर्ण चुनौतीको सामना गर्दैछन्। दर्शकको मनमा पहिल्यै स्थापित पौराणिक पात्रलाई आफ्नो अभिनय शैलीमा प्रस्तुत गर्नु उनका लागि अवसरसँगै चुनौती पनि हो।
रणवीर कपुर र साई पल्लवीजस्ता कलाकारसँग पर्दा साझा गर्न लागेका यशको नयाँ अवतारले फिल्मप्रेमीमाझ उत्सुकता बढाएको छ। फिल्म प्रदर्शनपछि रावणको भूमिकामा उनको प्रस्तुति र त्यसले दर्शकमाझ पार्ने प्रभाव कस्तो हुन्छ भन्ने चासोको विषय बनेको छ ।