सप्तरीको राजगढ गाउँपालिका–स्थित जनता शङ्कर माध्यमिक विद्यालय, नर्घोका करिब ३ सय विद्यार्थीलाई लागुऔषध दुर्व्यसनबाट बच्न र यसको दुष्परिणामबारे सचेत गराउने उद्देश्यले सचेतनामूलक प्रशिक्षण प्रदान गरिएको छ ।
राजगढ गाउँपालिकाको आर्थिक सहयोग तथा मिसन मधेश मिडिया प्रालिको आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रममा विद्यार्थीलाई लागुऔषधको प्रयोगले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असर, प्रचलित कानुनी व्यवस्था तथा दुर्व्यसनबाट बच्ने उपायबारे विस्तृत जानकारी दिइएको थियो । कार्यक्रमका सहजकर्ता अधिवक्ता सतिशकुमार दत्तले उत्सुकता, साथीभाइको दबाब वा क्षणिक रमाइलोका लागि लागुऔषध प्रयोग सुरु गर्ने धेरै युवायुवती अन्ततः दुर्व्यसनको सिकार बन्ने गरेको उल्लेख गर्दै विद्यार्थीले सुरुदेखि नै ‘नाइँ’ भन्न सक्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लागुऔषधको प्रयोगले शिक्षा, स्वास्थ्य, आर्थिक अवस्था तथा उज्ज्वल भविष्यमा गम्भीर असर पर्ने भएकाले सबै विद्यार्थी सचेत रहन आग्रह गर्नुभयो ।
त्यसैगरी, प्रहरी चौकी झुट्कीका प्रहरी नायब निरीक्षक विनोद खत्रीले नेपालमा लागू रहेको लागुऔषध सम्बन्धी कानुनी व्यवस्था, ओसारपसार, बिक्री–वितरण तथा सेवनसम्बन्धी कानुनी कारबाहीबारे जानकारी गराउँदै लागुऔषधविरुद्धको अभियानमा विद्यार्थी स्वयं सचेत नागरिकका रूपमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागी कक्षा १० का विद्यार्थी चितनारायण मण्डल र मेनुका कुमारी यादवले प्रशिक्षणबाट लागुऔषध सेवनले स्वास्थ्य, अध्ययन र भविष्यमा पार्ने गम्भीर असरबारे महत्वपूर्ण जानकारी प्राप्त भएको बताउनुभयो।
उहाँहरूले आफू मात्र नभई आफ्ना साथीभाइलाई समेत लागुऔषधको प्रयोगबाट टाढा रहन प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालय तहमा सञ्चालन गरिने यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीमा लागुऔषधप्रति सही बुझाइ विकास गर्न, दुर्व्यसनको जोखिम न्यूनीकरण गर्न तथा सुरक्षित, स्वस्थ र जिम्मेवार जीवनशैली अपनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।