बाराको निजगढ नगरपालिका–४ कछडियाबस्तीनजिकै बकैया खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्न गएको एउटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दाताराम अधिकारीका अनुसार बुधबार साँझ बकैया खोलाबाट बालुवा, ग्राभेललगायत नदीजन्य पदार्थ लोड गर्न गएका करिब आधा दर्जन ट्याक्टरमध्ये ना.५ त ९८७६ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो । ट्याक्टरहरू खोलामा पुगेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी टोली पुगेपछि अन्य ट्याक्टरहरू भने खोलाबाट भागेका थिए ।
वर्षायामलाई मध्यनजर गर्दै स्थानीय तहले साउन, भदौ र असोज गरी तीन महिनासम्म खोला ठेक्का नलगाएको अवस्थामा नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ओसारपसार तथा बिक्रीवितरणमा रोक लगाइएको छ । स्थानीय तहले नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा रोक लगाए पनि खोलाबाट ढुङ्गा, ग्राभेल र बालुवालगायत सामग्री अवैध रूपमा उत्खनन तथा ओसारपसार गर्ने क्रम बढेपछि प्रहरीले निगरानी र कारबाहीलाई तीव्रता दिएको जनाएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएको ट्याक्टरलाई आवश्यक कारबाहीका लागि सम्बन्धित वन कार्यालयमा बुझाइएको छ । अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने अन्य सवारीसाधनको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।