नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानभन्दा बाहिर गएर अभिव्यक्ति तथा निर्णय नगर्न पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएका छन् ।
मंगलबार पार्टीको बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देउवाको पछिल्लो अभिव्यक्ति तथा नेपाली कांग्रेसको इतर समूहले गरेको निर्णयप्रति आपत्ति जनाएका हुन् । कांग्रेसका पूर्वसभापतिसमेत रहेका देउवाले आइतबार इतर समूहद्वारा आयोजित भेलाको समापनका क्रममा आफू हिन्दु भएको अभिव्यक्ति दिएका थिए ।
उक्त भेलाले संविधानको मर्मविपरीत हिन्दु धर्मको पक्षपोषण हुने गरी निर्णयसमेत गरेको भन्दै प्रचण्डले त्यसप्रति आपत्ति जनाएका हुन् । बैठकमा प्रचण्डले संविधानभन्दा बाहिर गएर निर्णय तथा अभिव्यक्ति नदिन देउवालाई सचेत गराएको पार्टी नेता हिमाल शर्माले जानकारी दिए । प्रचण्डले ‘आफैँले बनाएको संविधानविपरीत निर्णय र अभिव्यक्ति नदिन’ आग्रह गरेको शर्माले बताए ।
सम्बोधनका क्रममा प्रचण्डले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार संविधान, लोकतन्त्र र विद्यमान व्यवस्थाविपरीत अघि बढिरहेको आरोप लगाए। सरकार गठनपछि बेथिति र भ्रष्टाचार बढेको तथा सञ्चारमाध्यममाथि प्रहार गरी आवाज दबाउने प्रयास भइरहेको उनको आरोप थियो ।उनले सरकारका गतिविधिविरुद्ध सडक आन्दोलनका लागि तयार रहन पार्टी कार्यकर्तालाई आग्रह गर्दै छिट्टै आन्दोलनको आह्वान गर्ने बताए ।
यसैबीच, नेकपा (एमाले) सँग भएको तीनबुँदे सहमतिले वामपन्थी शक्तिबीच सहकार्यको ढोका खोले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्ति यथावत् रहेसम्म तत्काल पार्टी एकता सम्भव नरहेको प्रचण्डले स्पष्ट पारे । उनले दीर्घकालीन रूपमा वामपन्थी एकताको पक्षमा आफूहरू रहेको बताउँदै तत्कालका लागि एमालेसँग भएको सहमति कार्यान्वयन गर्दै अघि बढ्नुको विकल्प नरहेको धारणा राखे ।
बैठकमा पार्टीका सहसंयोजक माधवकुमार नेपालले देश गम्भीर मोडमा रहेकाले लोकतान्त्रिक–गणतन्त्र पक्षधर सम्पूर्ण शक्ति एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले एमालेसँग भएको तीनबुँदे सहमतिलाई लिएर तत्काल पार्टी एकता भइहाल्ने भ्रममा नपर्न आग्रह गरे ।
वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमालेसहितको बृहत् वामपन्थी एकताका लागि पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले वामपन्थी शक्तिबीच सहकार्य, एकता र ध्रुवीकरणका लागि सकारात्मक पहल गर्न सबै पक्षलाई आग्रह गरे ।
बैठकमा बागमती प्रदेश संयोजक सरलसहयात्री पौडेलले पार्टी संगठनको अवस्थाबारे रिपोर्टिङ गरेका थिए । विभिन्न वामपन्थी घटकबीचको एकतापछि संगठन भद्दा र भद्रगोल देखिएको भन्दै आगामी अधिवेशनबाट सानो, चुस्त र प्रभावकारी संगठन निर्माण गर्नुपर्ने सुझाव उनले दि ।