राजविराज । नेपाल प्रेस युनियन शाखा सप्तरीको आठौँ अधिवेशन आगामी शनिबार हुने भएको छ। अधिवेशनबाट आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरिने भएपछि नेतृत्वका लागि आकांक्षीहरूबीच प्रतिस्पर्धा बढेको छ।
अध्यक्ष पदका लागि मनोजकुमार माझी, ललिताकुमारी साह, सुधा देव र परिष कर्णले उम्मेदवारीको दाबी प्रस्तुत गरेका छन्। अधिवेशनको मिति नजिकिँदै जाँदा नेतृत्व चयनका लागि सहमतिको प्रयाससँगै चुनावी तयारीसमेत तीव्र बनेको छ।
नेपाल प्रेस युनियन शाखा सप्तरीका अध्यक्ष विनयकुमार कर्णले अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार अधिवेशनका लागि आवश्यक आर्थिक तथा सांगठनिक प्रतिवेदन तयार भइसकेका छन्।
शाखा सचिव रमानन्द देवका अनुसार हाल युनियनमा ५१ जना सदस्य छन्। तीमध्ये ४५ जना पुराना र ६ जना नयाँ सदस्य रहेको उनले बताए। युनियनको विधानअनुसार अधिवेशनबाट ११ देखि १७ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ।
निर्वाचन प्रक्रिया व्यवस्थित बनाउन वरिष्ठ पत्रकार गणेशलाल देवको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। समितिको सदस्यमा शम्भुलाल देव र नरेशकुमार चौधरी रहेका छन्।
यही भदौ ६ गते शनिबार हुने अधिवेशनमा नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव दिलीप पौडेल, मधेश प्रदेश अध्यक्ष सत्यप्रसाद श्रेष्ठलगायतको सहभागिता रहने जनाइएको छ।
अधिवेशनको मुख्य एजेन्डा नयाँ कार्यसमिति चयन गर्नु रहेको छ। विशेषगरी अध्यक्ष पदमा चार जनाको दाबी परेपछि नेतृत्व सहमतिबाट चयन हुने वा निर्वाचनमार्फत टुंगो लाग्ने भन्ने विषयले सप्तरीका पत्रकारमाझ चासो बढाएको छ।
अध्यक्षका आकांक्षीहरूबीच सहमति जुटाउने प्रयास सफल भए नेतृत्व सर्वसम्मत चयन हुने सम्भावना छ। सहमति नजुटे निर्वाचन प्रक्रियामार्फत अध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिनेछ। अधिवेशनले शाखाको आगामी तीन वर्षको नेतृत्वसँगै संगठनको भावी दिशा तय गर्ने भएकाले यसलाई महत्वका साथ हेरिएको छ।