बारा, ३ भदौ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–१ का २४ वर्षीय प्रोग्रेस चौधरी र जितपुरसिमरा–२ का १६ वर्षीय सुमन थापा रहेका छन्। प्रहरीका अनुसार प्रोग्रेस ना।१ ज ७७५८ नम्बरको म्याजिकका धनी हुन् भने सुमन सोही म्याजिकमा सहचालकका रूपमा कार्यरत थिए।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार साउन ३१ गते बिहान घरबाट हराएकी जितपुरसिमरा–१ दसधुरीकी गरिमा चौधरीको शव मंगलबार साँझ भक्तिनगरस्थित एक घरको खाली कोठामा फेला परेको थियो।
बालिका हराएको सूचना पाएपछि प्रहरीले खोजी तथा अनुसन्धान तीव्र बनाएको थियो। शव भेटिएपछि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीको नेतृत्वमा सोकोसहितको टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको नेतृत्वमा थप अनुसन्धान टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा नेपाल प्रदेश प्रहरी कार्यालय, वीरगञ्जबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत परिचालन गरिएको थियो। अनुसन्धान तथा शव पहिचानको प्रक्रियाबाट मृतक बालिका गरिमा चौधरी नै रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा म्याजिकका सहचालक सुमन थापाले बालिकालाई चकलेट दिने बहानामा फकाएर घटनास्थलमा लगेको खुलेको छ। त्यहाँ बालिकामाथि जबरजस्ती करणी गरेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।
घटनामा प्रोग्रेस चौधरीको समेत संलग्नता रहेको आशंकामा दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको कारण, घटनामा संलग्न व्यक्तिको भूमिका तथा अन्य सम्भावित पक्षबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पक्राउ परेका दुवै जनामाथि प्रचलित कानुनअनुसार आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।