विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
संसदीय दलको बैठक चलिरहेकै अवस्थामा कांग्रेसले समर्थन फिर्ता लिएको जानकारीसहितको पत्र प्रदेशसभा सचिवालयमा पठाएको प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिए । कांग्रेसले अब प्रदेशसभामा विपक्षी बेञ्चमा बस्ने निर्णयसमेत गरेको छ।
कांग्रेस कोशी प्रदेशसभामा २९ सांसदसहित दोस्रो ठूलो दल हो। ९३ सदस्यीय प्रदेशसभामा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमाथि राजनीतिक दबाब बढेको छ।
यसअघि कांग्रेस र नेकपा एमालेबीच भएको सत्ता सहकार्यअनुसार कांग्रेस सरकारमा सहभागी थियो। पछिल्लो राजनीतिक परिस्थितिमा मुख्यमन्त्री कार्कीले कांग्रेससँग सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए । तर कांग्रेस संसदीय दलले विश्वासको मत दिनुको सट्टा सरकारलाई दिएको समर्थन नै फिर्ता लिने निर्णय गरेको हो।
समर्थन फिर्तापछि मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक अवस्था सिर्जना भएको छ। अब सरकारले विश्वासको मत लिन आवश्यक प्रक्रिया अघि बढाउनेछ।
कोशी प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन। यस्तो अवस्थामा कांग्रेस सरकारबाट बाहिरिएपछि प्रदेश सरकार टिकाउन आवश्यक बहुमत जुटाउने चुनौती मुख्यमन्त्री कार्कीसमक्ष देखिएको छ।
कांग्रेसको निर्णयसँगै कोशी प्रदेशमा नयाँ सत्ता समीकरणको सम्भावनासमेत बढेको छ। सरकार गठन तथा बहुमत जुटाउने विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच पुनः छलफल, वार्ता र राजनीतिक जोडघटाउ सुरु हुने देखिएको छ।
मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउन नसकेको अवस्थामा कोशी प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आउन सक्ने भएकाले कांग्रेसको समर्थन फिर्तालाई प्रदेश राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।