रौतहट । अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहेका १३ जना प्रतिवादीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइबाट परिचालित टोलीले बुधबार जिल्लाका विभिन्न स्थानमा खोजी गरी उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई अदालतको फैसला कार्यान्वयनका लागि रौतहट जिल्ला अदालत, गौरमा पेश गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार पक्राउ परेकाहरू विद्युतीय अपराध, लागूऔषध, बिगो, चोरी, कुटपिट, चेक अनादर, अभद्र व्यवहार र बहुविवाहलगायत मुद्दामा अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन्।
प्रहरीका अनुसार पक्राउ परेका १३ जनाबाट अदालतको फैसला बमोजिम कुल ५ वर्ष ३ महिना २३ दिन कैद तथा १ लाख १८ हजार रुपैयाँ जरिवाना असुलउपर गर्न बाँकी थियो।
पक्राउ परेकामध्ये विद्युतीय अपराधसम्बन्धी मुद्दामा दोषी ठहर भएका एक प्रतिवादीलाई २ महिना ७ दिन कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो। लागूऔषध मुद्दामा १ वर्ष १० महिना ६ दिन कैद तथा ९० हजार रुपैयाँ जरिवाना र बिगोसम्बन्धी मुद्दामा २ वर्ष कैद सजाय फैसला भएको प्रहरीले जनाएको छ।
त्यस्तै, चोरी मुद्दामा १ महिना ८ दिन कैद र १० हजार रुपैयाँ जरिवाना, अभद्र व्यवहारसम्बन्धी मुद्दामा २ महिना तथा बहुविवाह मुद्दामा १ वर्ष २ दिन कैद सजाय तोकिएको थियो। कुटपिट र चेक अनादरसम्बन्धी मुद्दामा भने अदालतको फैसलाअनुसार विभिन्न रकम जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।
अदालतबाट फैसला भइसकेपछि पनि कानुनी प्रक्रियाबाट उम्किएर फरार रहेका व्यक्तिलाई पक्राउ गरी फैसला कार्यान्वयन गराउने अभियानलाई प्रहरीले तीव्रता दिएको छ। रौतहट प्रहरीले फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ।
प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजी, पहिचान र पक्राउलाई प्राथमिकतामा राखिएको छ।