लागूऔषधसम्बन्धी कसुरमा अदालतको फैसलापछि बाल सुधार गृहमा राखिएका १७ वर्षीय एक युवक चार दिनदेखि फरार रहेका छन् ।
वीरगंज महानगरपालिका–४, विर्तास्थित बाल सुधार गृहबाट ती युवक मंगलबार बिहान झ्यालबाट हाम फालेर फरार भएको पर्सा प्रहरीले जनाएको छ । उनी सर्लाहीको गोडैता नगरपालिका घर भएका हुन् ।
पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र मल्लका अनुसार युवक बिहान करिब साढे ५ बजे सुधार गृहको पछाडितर्फ रहेको झ्यालबाट हाम फालेर फरार भएका थिए ।
प्रहरीका अनुसार लागूऔषधसम्बन्धी कसुरमा अदालतको फैसलापछि करिब एक साताअघि मात्रै उनलाई बाल सुधार गृहमा राखिएको थियो । सुधार गृहमा राखिएको केही दिनमै उनी झ्यालबाट भागेका हुन् ।
युवक फरार भएको जानकारी पाएलगत्तै उनको खोजीका लागि प्रहरी परिचालन गरिएको थियो । सम्भावित स्थानमा खोजी तथा निगरानी बढाइए पनि चार दिन बितिसक्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेको डीएसपी मल्लले बताए ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धानसमेत अघि बढाएको जनाएको छ । सुधार गृहबाट युवक कसरी झ्याल हुँदै बाहिरिन सफल भए भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।