बारा । तीन वर्षीया बालिका गरिमा चौधरीको मृत्यु प्रकरणमा न्यायको माग गर्दै जारी आन्दोलनका कारण वीरगञ्ज–पथलैया सडकखण्ड शनिबार चौथो दिन पनि ठप्प भएको छ ।
गत बुधबार बिहान ११ बजेदेखि स्थानीयवासीले सडक अवरुद्ध गर्दै आन्दोलन थालेका थिए । जीतपुरसिमरा उपमहानगरपालिका–सिमरा क्षेत्रमा प्रदर्शनकारीले सडककै बीचमा टेन्ट टाँगेर धर्ना दिँदै आएका छन् । सडक अवरुद्ध भएपछि वीरगञ्ज–पथलैया सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।
आन्दोलनकारीले बालिकाको मृत्यु प्रकरणमा दोषीमाथि कारबाही, घटनाको निष्पक्ष छानबिन तथा परिवारलाई न्यायको सुनिश्चितता हुनुपर्ने माग राख्दै आएका छन् । सुरुमा इलाका प्रहरी कार्यालय सिमराका प्रमुखको लापरबाहीका कारण घटना भएको आरोप लगाउँदै उनको सरुवाको मागसमेत गरिएको थियो ।
आन्दोलन चर्किएपछि स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको रोहबरमा बिहीबार राति पाँचबुँदे सहमति भएको थियो । सहमतिपछि इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलीप क्षेत्रीको सरुवासहितका विषयमा टुंगो लगाइएको बताइएको थियो ।
तर, मध्यरातमा भएको उक्त सहमतिमा आफूहरूको सहमति नरहेको मृतक बालिकाका परिवारले जनाएपछि आन्दोलन रोकिएन । परिवारले आफ्ना माग सम्बोधन नभएसम्म सडक आन्दोलन जारी राख्ने अडान लिएको छ ।
शनिबार पनि जीतपुरसिमरा उपमहानगरपालिकासहित बाराका विभिन्न क्षेत्रबाट स्थानीयवासी सिमरामा जम्मा भएर परिवारको आन्दोलनमा ऐक्यबद्धता जनाइरहेका छन् । प्रदर्शनकारीले सडकमा धर्ना जारी राखेका कारण वीरगञ्ज–पथलैया सडकखण्डको नियमित आवागमन प्रभावित भएको छ ।
मृतक बालिकाको शव अझै कलैया अस्पतालमा राखिएको छ । परिवारले न्यायको माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिँदै आन्दोलनलाई निरन्तरता दिएको जनाएको छ ।
प्रशासन र आन्दोलनरत पक्षबीच सहमति कायम हुन नसक्दा वीरगञ्ज–पथलैया सडकखण्डमा देखिएको अवरोध कहिले हट्ने भन्ने अन्योल कायमै छ । आन्दोलनका कारण लामो दूरीका सवारीसाधन तथा यात्रुहरू समेत प्रभावित भएका छन् ।