वीरगञ्ज । ब्रह्माकुमारी संस्थाकी पूर्व मुख्य प्रशासिका राजयोगिनी डा. प्रकाशमणिको १९औँ पुण्यस्मृति दिवसको अवसरमा वीरगञ्जमा रक्तदान तथा निःशुल्क नेत्र परीक्षण शिविर आयोजना गरिएको छ।
ब्रह्माकुमारीज समाज सेवा प्रभाग, वीरगञ्जको आयोजनामा भएको एकदिने शिविरमा ४३ जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेमा ३८ पुरुष र ५ महिला रहेका छन्।
किरण आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क नेत्र परीक्षण शिविरबाट भने ८० जना लाभान्वित भएका छन्। परीक्षण गराउनेमा ५० महिला र ३० पुरुष रहेका छन्।
वीरगञ्जकी मुख्य सञ्चालिका ब्रह्माकुमारी रविना दिदीको अध्यक्षता तथा सशस्त्र प्रहरी बल नेपाल, १३ नम्बर गण हेडक्वार्टर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा शिविर सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीले ब्रह्माकुमारी संस्थाले राजयोग ध्यान र आध्यात्मिक ज्ञानमार्फत समाजमा शान्ति, भाइचारा तथा चरित्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो। रक्तदानजस्ता सामाजिक सेवाका कार्यक्रमले मानव जीवन बचाउन सहयोग गर्नुका साथै समाजमा सकारात्मक सन्देश र प्रेरणा दिने उहाँको भनाइ थियो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, उपसभापति मधु राणा, सामुदायिक सेवा केन्द्र छपकैया–२ का अध्यक्ष ग्यासुद्दिन ठकुराई, इनोभेटिभ सोसाइटी नेपालका अध्यक्ष कमल चौगाई, सशस्त्र प्रहरीका इन्स्पेक्टर चन्द्रकान्त पौडेल, असई विद्यानन्द चौधरी, पत्रकार कन्हैया पटेल, राजकुमार सर्राफ र जाकिर हुसैनलगायतको उपस्थिति थियो।
त्यस्तै, समाज सेवा प्रभागका वीरगञ्ज क्षेत्रीय संयोजक ब्रह्माकुमार बेली, सहसंयोजक ब्रह्माकुमार छोटेलाल र ब्रह्माकुमारी पूर्णिमा, ब्रह्माकुमारी ज्ञानु, रक्त सञ्चार केन्द्र तथा किरण आँखा अस्पतालका प्राविधिक, नर्सिङ क्याम्पसका विद्यार्थी र रक्तदाताहरूको सहभागिता रहेको थियो।