सिरहा । सिरहाको औरही गाउँपालिकाबाट सशस्त्र प्रहरीले करिब चार किलो काँचो मासुसहित दुई युवकलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।
शुक्रबार साँझ करिब ५ः५० बजे औरही गाउँपालिका–५ स्थित गागन खोलामा सशस्त्र प्रहरीको गस्ती टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। मनोजकुमार चौधरीको कमान्डमा खटिएको टोलीले शंकास्पद अवस्थामा मोटरसाइकलमा सवार उनीहरूलाई रोकेर जाँच गर्दा मासु बरामद गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा औरही गाउँपालिका–५ मुस्लिम टोलका मोहतर खान र सोही ठाउँका मो। अकरोज खान रहेका छन्।
सशस्त्र प्रहरीका एसपी सुमनजंग थापाका अनुसार शंका लागेपछि दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको छ।
बरामद गरिएको मासु भारतबाट लुकाइछिपाई नेपाल ल्याइएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ। यद्यपि, बरामद मासु कुन जनावरको हो भन्ने विषयमा भने यकिन भइसकेको छैन।
जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी बासुदेव पाठकका अनुसार मासुको परीक्षणका लागि क्वारेन्टाइन कार्यालय माडर पठाउने तयारी भइरहेको छ। परीक्षणबाट प्राप्त रिपोर्टका आधारमा मात्रै घटनामा मुद्दा चलाउने वा नचलाउने विषयमा निर्णय गरिने प्रहरीले जनाएको छ।