सिमरा । तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या विरोधमा बुधबारदेखि अवरुद्ध वीरगञ्ज–पथलैया सडकखण्ड आइतबार बिहानदेखि सञ्चालनमा आएको छ । सडकमा टेन्ट टाँगेर स्थानीयवासी तथा मृतकका परिवारले गर्दै आएको आन्दोलन शनिबार रातिबाट स्थगित भएपछि सिमराको जनजीवन क्रमशः सामान्य बन्दै गएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेस्थित सडकमा जारी आन्दोलनका कारण चार दिनदेखि रोकिएका सवारीसाधन शनिबार रातिबाटै गन्तव्यतर्फ जान थालेका थिए । आइतबार बिहानदेखि भने वीरगञ्ज–पथलैया सडकखण्डमा लामो तथा छोटो दूरीका यात्रुबाहक र मालवाहक सवारीसाधन नियमित रूपमा सञ्चालनमा आएका छन् ।
आन्दोलनका कारण सडकमा रोकिएका मालवाहक सवारीसाधनसमेत राति नै गन्तव्यतर्फ लागेका थिए । यातायात सञ्चालनमा आएसँगै सडक आसपासको जनजीवन पनि सामान्य अवस्थामा फर्किन थालेको स्थानीयले बताएका छन् ।
गरिमा गत आइतबार बिहान घरबाटै बेपत्ता भएकी थिइन् । उनको शव दुई दिनपछि मंगलबार साँझ स्थानीय एक खाली घरमा हत्या गरिएको अवस्थामा फेला परेको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले स्थानीय १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ ।
बालिकामाथि बलात्कारपछि हत्या गरिएको आरोप लगाउँदै स्थानीयवासी र मृतकका परिवारले दोषीलाई कडा कारबाही तथा फाँसीको माग गर्दै बुधबारदेखि सडकमा आन्दोलन थालेका थिए । आन्दोलन विस्तार हुँदै गएपछि वीरगञ्ज–पथलैया सडकखण्डको सवारी आवागमन प्रभावित भएको थियो ।
गरिमाको न्यायको माग देशव्यापी रूपमा उठेपछि शनिबार गृह मन्त्रालयको पहलमा मृतकका आमाबुबासहितको टोलीसँग काठमाडौंमा वार्ता भएको थियो । वार्ताका क्रममा तीनबुँदे सहमति भएपछि आन्दोलन स्थगित गर्ने सहमति बनेको हो ।
मृतकका परिवार वार्ताका लागि काठमाडौं पुगे पनि स्थानीयवासीले भने सहमतिको जानकारी नआएसम्म सडकमा धर्ना जारी राखेका थिए । गृह मन्त्रालयमा सहमति भएको जानकारी पाएपछि राति करिब १ बजे स्थानीयले सडकबाट धर्ना हटाएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
आन्दोलन स्थगित भएसँगै आइतबार बिहानदेखि सडकमा सवारीसाधनको आवागमन सहज बनेको छ भने लामो समयदेखि प्रभावित सिमरा क्षेत्रको दैनिक जनजीवन पनि सामान्य बन्दै गएको छ ।