सिराहा । सिराहाको गोलबजारबाट प्रहरीले ब्राउनसुगरजस्तो देखिने पदार्थसहित तीनजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार गोलबजारस्थित इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको संयुक्त टोलीले शनिबार साँझ गोलबजार– ४, विकास टोलअगाडिबाट प्लास्टिकबाहेक ९।५४ ग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित तीनजनालाई पक्राउ गरेको हो ।
धनगढीमाई नगरपालिकाअन्तर्गत पर्ने कसहाबाट मधेश प्रदेश ०१–००५ प २४१३ नम्बरको मोटरसाइकल चलाएर गोलबजारतर्फ आउँदै गरेका धनगढीमाई– ८ का करिब १९ वर्षीय दीपककुमार यादव, मोटरसाइकलको पछाडि बसेका धनगढीमाई– ७ का करिब २० वर्षीय आशिक महतो र धनगढीमाई– ६ का करिब १८ वर्षीय राजेशकुमार दासलाई पक्राउ गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।
उनका अनुसार मोटरसाइकलचालक यादवको साथबाट ब्राउनसुगरजस्तो देखिने पदार्थसँगै दुई थान मोबाइल र दुई हजार ९२० रुपैयाँ नगद बरामद भएको थियो । त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिई गोलबजार प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको छ ।
त्यस्तै सिराहा प्रहरीका अनुसार पछिल्लो आर्थिक वर्ष ०८२/८३ को साउनदेखि असारसम्म १२ महिनाको अवधिमा जिल्लाका विभिन्न ठाउँबाट ३० क्विन्टल ७३ किलो ४२९ ग्राम गाँजा, ९८७ ग्राम ३९ मिलिग्राम ब्राउनसुगर, नाइट्राभेट, डाइजिपाम, बुप्रेनर्फिन, नाइट्राजिपाम, कोडिवेललगायतका औषधिजन्य लागुऔषधसहित १९५ जनालाई पक्राउ गरी १२६ वटा मुद्दा चलाइएको छ ।
प्रहरीको तथ्यांकअनुसार गत साउन महिनामा जिल्ला प्रहरी कार्यालयसहित मातहतका विभिन्न प्रहरी युनिटबाट खटिएको गस्ती टोलीले १६ जनालाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको छ । सो अवधिमा लागुऔषध ओसारपसारसम्बन्धी आठवटा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
उक्त अवधिमा सात क्विन्टल ९४ किलो ७१५ ग्राम गाँजा, २५० ग्राम ४२ मिलिग्राम ब्राउनसुगर र १३ बोतल औषधिजन्य लागुऔषध अनरेक्स–१०० एमएल बरामद भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।