वीरगंज । सप्तरीमा दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरी उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको छ।
पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका–२ कन्कपट्टी टोलकी २५ वर्षीया मुस्कान भनिने जास्मिन खातुन रहेकी छन्। उनी हाल शम्भुनाथ नगरपालिका–३ स्थित ट्राफिक बजारमा बस्दै आएकी थिइन्।
प्रहरीका अनुसार ७ गते बिहान करिब १०ः३५ बजे शम्भुनाथ नगरपालिका–३ स्थित घरपछाडिको झाडीमा दुई वर्षीया बालिका मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि मृतककी आमा रुबिना खातुनले प्रहरीमा जाहेरी दिएपछि अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा जास्मिनलाई पक्राउ गरिएको र प्रारम्भिक सोधपुछका क्रममा उनले बालिकाको हत्या आफूले नै गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकी जास्मिन मृतक बालिकाका बुबा मोहमद इरफानकी कान्छी श्रीमती हुन्। सोही आधारमा बालिका र जास्मिनबीच सौतेनी सम्बन्ध रहेको खुलेको प्रहरीले जनाएको छ।
घटनासम्बन्धी अनुसन्धानका लागि जास्मिनविरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको छ। उनलाई सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।