मधेश प्रदेश सरकारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि दोस्रो चरणको राहत सामग्री पठाउने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले मंगलबार बाढीपीडितका लागि ७ हजार थान कम्बल र ७ सय थान अस्थायी आवासका लागि टेन्ट पठाउने निर्णय गरेको हो ।
गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अध्यक्षता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यमा बसेको बैठकमा भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा विस्थापित परिवारको व्यवस्थापनका विषयमा छलफल भएको थियो ।
मन्त्री महतोका अनुसार प्रदेश सरकारले यसअघि पहिलो चरणमा ५५ लाख रुपैयाँ बराबरको राहत सहयोग पठाइसकेको छ। दोस्रो चरणमा कम्बल र टेन्ट पठाउन लागिएको हो ।
“प्रदेश सरकारले दोस्रो चरणको राहत पठाउन थालेको हो । पहिलो चरणमा ५५ लाख रुपैयाँ पठाइएको थियो भने दोस्रो चरणमा कम्बल र टेन्ट पठाउने निर्णय गरिएको छ,” मन्त्री महतोले भन्नुभयो ।
उहाँका अनुसार बाढी प्रभावितका लागि आगामी दिनमा थप सहयोग आवश्यक रहेकाले मंगलबार पुनः बैठक बसेर थप राहत तथा सहयोगका विषयमा छलफल गरिनेछ ।
बैठकले विपद्को समयमा प्रभावित नागरिकको जीवनरक्षा तथा मानवीय सहायता उपलब्ध गराउनु सरकारको प्रमुख दायित्व भएकाले राहत तथा उद्धारका कार्यलाई प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउने निर्णयसमेत गरेको छ।
बैठकमा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिका पदाधिकारी तथा सम्बन्धित सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो ।