रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि मधेस प्रदेशको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलले १५ दिन बराबरको तलब सहयोग गर्ने भएको छ ।
संसदीय दलमा आबद्ध प्रदेशसभा सदस्य, स्वकीय सचिव तथा सचिवालयमा कार्यरत कर्मचारीहरूको १५ दिनको तलब कट्टा गरी बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग गर्ने निर्णय गरिएको हो । संसदीय दलका नेता युवराज भट्टराईले प्रदेशसभाका सचिवलाई पत्र लेख्दै उक्त सहयोग रकम व्यवस्थापन गर्न आग्रह गरेका छन् ।
पत्रमा रसुवा जिल्लामा बाढीका कारण ठूलो आर्थिक, भौतिक तथा मानवीय क्षति भएकाले प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्नु सामाजिक तथा मानवीय दायित्व भएको उल्लेख गरिएको छ । नेता भट्टराईले संसदीय दलका सदस्य, स्वकीय सचिवलगायत सचिवालयमा कार्यरत कर्मचारीहरूको १५ दिनको तलब कट्टा गरी तोकिएको बैंक खातामा जम्मा गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्।
यसैबीच, रसुवाका बाढीपीडितका लागि मधेस प्रदेशबाट सहयोग जुटाउने क्रम बढ्दै गएको छ । संकटको समयमा प्रभावित नागरिकलाई सहयोग गर्नुपर्ने भन्दै सर्वसाधारणदेखि उद्योगपति, व्यवसायी तथा शिक्षकसम्मले आर्थिक तथा जिन्सी सहयोग गरिरहेका छन् ।