रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ९ सय ८७ पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहानसम्म ९ सय ८७ जनाको शव फेला परेको हो ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३२१ जनाको शव फेला परेको छ । यस्तै, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको छ ।
बाढी तथा त्यसपछिको विपद्का कारण ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । सम्पर्कविहीन हुनेमा प्रहरीतर्फ २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल, नेपालका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका तीन जना कर्मचारी रहेका छन् ।
प्राधिकरणका अनुसार हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ । विपद्पछिको खोज, उद्धार तथा राहत कार्यका लागि २१ हजार ११ जना सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।