रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा परी ज्यान गुमाएका मधेस प्रदेशका नागरिकका परिवारलाई प्रदेश सरकारले प्रतिमृतक १ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।
यसका साथै, विपद्मा परी घाइते भएकाहरूको प्रादेशिक अस्पतालमा निःशुल्क उपचार गरिने निर्णय गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री कृष्णप्रसाद यादवको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
बैठकको निर्णयबारे जानकारी दिँदै अर्थमन्त्री युवराज भट्टराईले बाढीमा ज्यान गुमाएका आफ्ना नागरिकका परिवार वा नजिकका हकवालालाई यथाशीघ्र प्रतिमृतक १ लाख रुपैयाँ आर्थिक राहत हस्तान्तरण गरिने बताए ।घाइतेहरूको उपचार खर्च सरकारले व्यहोर्ने गरी प्रादेशिक अस्पतालहरूमा निःशुल्क स्वास्थ्य उपचारको प्रबन्ध मिलाइने मन्त्री भट्टराईले स्पष्ट पारे ।
अर्थमन्त्रीका अनुसार भोटेकोशी तथा त्रिशूली नदीको बाढीमा परेर हालसम्म मधेस प्रदेशका ४ जना नागरिकको मृत्यु भएको पुष्टि भइसकेको छ भने अझै १ सय ६० जना सम्पर्कविहीन अवस्थामा छन् । यसका साथै, समग्र बाढी प्रभावित क्षेत्रका बासिन्दाको सहयोगार्थ मधेस प्रदेश सरकारले १ करोड ९६ लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउने निर्णयसमेत गरेको छ। जसअन्तर्गत ७ हजार थान कम्बल र ७ सय सेट टेन्ट गृह मन्त्रालयमार्फत रसुवा र नुवाकोटका स्थानीय प्रशासन तथा वाग्मती प्रदेश सरकारको समन्वयमा वितरण गरिनेछ ।
सोही बैठकले ‘स्थानीय तहका कर्मचारीहरूको सरुवा मापदण्ड, २०८३’ स्वीकृत गर्नुका साथै स्थानीय सेवासम्बन्धी ऐन संशोधनको मस्यौदा रायका लागि प्रदेश लोक सेवा आयोगमा पठाउने निर्णय पनि गरेको छ ।