जनकपुरधाम । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि प्रभावित परिवारको सहयोगका लागि देशका विभिन्न क्षेत्रबाट राहत तथा आर्थिक सहयोग जुट्न थालेको छ। विपद्को यो कठिन समयमा मधेस प्रदेशबाट पनि सरकारदेखि स्थानीय तह, उद्योगी–व्यवसायी, शिक्षक, चिकित्सक तथा सर्वसाधारणसम्म सहयोगमा जुटेका छन्।
पीडितको दुःखमा साथ दिनुपर्ने मानवीय भावनाका साथ मधेसका विभिन्न स्थानबाट नगद तथा राहत सामग्री संकलन गरी प्रभावित क्षेत्रमा पठाउने क्रम बढेको छ। प्रदेश सरकार, स्थानीय सरकार, निजी क्षेत्र र सामाजिक संघसंस्थाले आफ्नो क्षमताअनुसार सहयोग गरिरहेका छन्।
मधेस प्रदेश सरकारले मात्रै करिब साढे दुई करोड रुपैयाँ बराबरको राहत सामग्री प्रभावित क्षेत्रमा पठाइसकेको जनाएको छ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ३० लाख रुपैयाँ सहयोग गरेको छ। उक्त सहयोगमा गाउँपालिकाको तर्फबाट ११ लाख ११ हजार १११ रुपैयाँ, जनप्रतिनिधिहरूबाट ५ लाख २३ हजार ५०० रुपैयाँ, कर्मचारीबाट ५ लाख ४६ हजार ७९९ रुपैयाँ तथा गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट ७ लाख ८४ हजार १७२ रुपैयाँ रहेको छ।
यसैगरी धनौजी नगरपालिकाले १५ लाख १५ हजार १५१ रुपैयाँ सहयोग गरेको छ। पर्साको महागढीमाई नगरपालिकाले ४१ लाख ५१ हजार रुपैयाँ, ठोरी गाउँपालिकाले ११ लाख रुपैयाँ तथा महोत्तरीको मटिहानी नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गरेका छन्।
निजी क्षेत्रबाट पनि बाढीपीडितका लागि उल्लेख्य सहयोग घोषणा भएको छ। जनकपुरस्थित एभरेस्ट सुगर मिल्सले ५१ लाख रुपैयाँ सहयोग गरेको छ भने रौतहटको नेत्रज्योति संघले १० लाख रुपैयाँ उपलब्ध गराएको छ।
जनकपुरको महावीर युवा कमिटीले १ लाख २५ हजार रुपैयाँ तथा जानकी हेल्थकेयरले ५ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन्।
उद्योग वाणिज्य संघ जनकपुरले पनि बाढी प्रभावितका लागि ठूलो परिमाणमा राहत सामग्री पठाउने तयारी गरेको छ। संघले ५० लाखदेखि एक करोड रुपैयाँसम्मको राहत सामग्री संकलन गरी प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको जनाएको छ।
संघका अध्यक्ष सुरेन्द्र भण्डारीका अनुसार प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा खाद्यान्न र लत्ताकपडा संकलन भइरहेको छ। राहत वितरणका लागि दुई हजार थान ट्र्याकसुट तयार गराउने प्रक्रिया अघि बढाइएको र सामग्री तयार भएपछि प्रभावित क्षेत्रमा पुगेर वितरण गरिने उहाँले बताउनुभयो।
‘विपद्ले सिंगो देशलाई प्रभावित बनाएको छ। यस्तो अवस्थामा हामीले सहयोग नगरे कसले गर्ने ?’ उहाँले भन्नुभयो।
मधेस प्रदेशका प्रमुख सहर तथा विभिन्न जिल्लाबाट खाद्यान्न, लत्ताकपडा, औषधि, टेन्ट, त्रिपाललगायत अत्यावश्यक सामग्री संकलन गरी प्रभावित क्षेत्रमा पठाउने क्रमसमेत जारी छ।
कसैले व्यक्तिगत रूपमा खर्च गरेर राहत सामग्री उपलब्ध गराइरहेका छन् भने कतिपय संघसंस्था तथा समूहले सामूहिक रूपमा रकम र सामग्री संकलन गरेर प्रभावित परिवारसम्म पुर्याइरहेका छन्।
विपद्को समयमा मधेसबाट देखिएको यस्तो सहयोग र ऐक्यबद्धताले प्रभावित परिवारलाई तत्काल राहतसँगै आफूहरू एक्लो नभएको अनुभूति गराउने अपेक्षा गरिएको छ।