रौतहट । टिकटकमार्फत फर्निचर बिक्री गर्ने भन्दै मोबाइलको स्क्रिन सेयर गराएर बैंकिङ विवरण हात पारी रकम ठगी गरेको आरोपमा रौतहट प्रहरीले दुई जनाविरुद्ध अनलाइन ठगीसम्बन्धी मुद्दा दर्ता गरेको छ।
मुद्दा दर्ता हुनेमा कटहरिया नगरपालिका–३ बिर्ती प्रस्टोकाका २० वर्षीय सुरजप्रसाद यादव र २२ वर्षीय भोलिन्द्रकुमार यादव रहेका छन् । जिल्ला अदालत रौतहटले दुवै जनालाई अनुसन्धानका लागि ६ दिनको म्याद दिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार करिब एक साताअघि सिरहाको नवराजपुर गाउँपालिका–३ का ४५ वर्षीय वैद्यनाथकुमार यादवलाई टिकटकमार्फत अनलाइन फर्निचर बिक्री गर्ने भन्दै सम्पर्क गरिएको थियो ।
प्रहरीका अनुसार कुराकानीका क्रममा पीडितलाई मोबाइलको स्क्रिन सेयर गर्न लगाइएको थियो। त्यसै क्रममा मोबाइल बैंकिङको पासवर्ड प्राप्त गरी पीडितको खाताबाट ४७ हजार १९८ रुपैयाँ निकालिएको आरोप छ।
खाताबाट रकम निकालिएपछि पीडितले बैंकिङ विवरणका आधारमा रकम निकाल्ने व्यक्तिको ठेगाना पत्ता लगाएको बताइएको छ। मंगलबार उनले इलाका प्रहरी कार्यालय कटहरियामा लिखित उजुरी दिएपछि वरिष्ठ प्रहरी नायब निरीक्षक जयप्रकाश साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले सुरज र भोलिन्द्रलाई पक्राउ गरेको हो।
पक्राउपछि घटना मिलाउने प्रयासको आरोप
दुवै जना पक्राउ परेपछि घटनालाई रकम फिर्ता गराएर मिलाउने प्रयाससमेत भएको प्रहरी स्रोतको दाबी छ ।
स्थानीय केही जनप्रतिनिधि तथा बिचौलियाले पीडितलाई रकम फिर्ता गराइदिने भन्दै जाहेरी नदिन सहमत गराउने प्रयास गरेको बताइएको छ । पीडितलाई रकम फिर्ता गराएर घर पठाउने र आरोपीलाई छुटाउने प्रयास भइरहेको जानकारी पाएपछि घटनाबारे मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीलाई जानकारी गराइएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएपछि डीआईजी अधिकारीले आरोपीलाई सहजै उन्मुक्ति नदिन तथा कानुनी प्रक्रियाअनुसार अनुसन्धान अघि बढाउन निर्देशन दिएको प्रहरीको भनाइ छ ।
डीआईजी अधिकारीले सानो रकमको ठगी जस्तो देखिए पनि यसको पछाडि थप व्यक्ति वा संगठित समूहको संलग्नता हुनसक्ने भएकाले घटनालाई गम्भीर रूपमा अनुसन्धान गर्न निर्देशन दिएको बताएका छन् ।
त्यसपछि प्रहरीले दुवै जनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको हो ।
४७ हजारको ठगी कि ठूलो सञ्जालको संकेत ?
प्रहरीले घटनालाई दुई व्यक्तिले गरेको सामान्य अनलाइन ठगीमा मात्र सीमित नराखी थप व्यक्तिको संलग्नताबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ ।
डिजिटल माध्यमबाट हुने ठगीमा सामाजिक सञ्जाल, मोबाइल नम्बर, बैंक खाता, डिजिटल वालेट तथा अन्य विद्युतीय माध्यम प्रयोग हुने भएकाले एउटा घटनाबाट थप व्यक्ति वा समूहसम्म पुग्न सक्ने सम्भावना रहन्छ। त्यसैले पक्राउ परेका व्यक्तिको मोबाइल, बैंकिङ कारोबार तथा डिजिटल सम्पर्कको प्राविधिक परीक्षण अनुसन्धानको महत्वपूर्ण पाटो बन्न सक्छ।
स्थानीयस्तरमा भने यस्ता घटनामा पीडितले रकम फिर्ता पाएपछि कानुनी प्रक्रिया अघि नबढाउने अवस्था देखिने गरेको चर्चा छ। रकम फिर्ता गराएर घटना मिलाउने प्रयास हुँदा ठगीमा संलग्न सम्भावित अन्य व्यक्ति तथा सञ्जालसम्म प्रहरी अनुसन्धान पुग्न नसक्ने जोखिम रहने स्थानीयको भनाइ छ।
यस्ता घटनामा पीडितको रकम फिर्ता हुनु महत्वपूर्ण भए पनि अपराधको प्रकृति र संलग्न व्यक्तिको पहिचान तथा सञ्जालबारे अनुसन्धान हुनु आवश्यक देखिन्छ।
अनुसन्धानले खुलाउनेछ वास्तविकता
हाल पक्राउ परेका दुवै जना प्रहरी हिरासतमा छन्। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यका अनुसार उनीहरूमाथि सोधपुछ तथा थप अनुसन्धान भइरहेको छ ।
घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुनसक्ने देखिएकाले सोही कोणबाट अनुसन्धान अघि बढाइएको डीएसपी आचार्यले बताएका छन् । अब प्रहरी अनुसन्धानले टिकटकमार्फत गरिएको यो ठगी दुई व्यक्तिमा मात्र सीमित थियो वा यसको पछाडि थप व्यक्ति तथा संगठित डिजिटल ठगीको सञ्जालसमेत सक्रिय थियो भन्ने विषय स्पष्ट पार्नेछ।
साथै पीडितलाई सम्पर्क गर्न प्रयोग गरिएको सामाजिक सञ्जाल खाता, मोबाइल नम्बर र रकम स्थानान्तरण भएको बैंकिङ विवरणले अनुसन्धानलाई थप तथ्यसम्म पुर्याउने अपेक्षा गरिएको छ।